ताप्लेजुङ, ६ मङ्सिर : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा यो वर्षको पहिलोपटक गए रातिदेखि हिमपात सुरु भएको छ । शुक्रबार दिउँसो सामान्य वर्षा भएसँगै साँझदेखि हिउँ परेको थियो ।
हल्का हिमपातसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताउनुभयो । चिसो बढेसँगै पाथीभरा क्षेत्र विकास समितिले समेत जाडोबाट बच्न तथा सतर्कता अपनाउन तीर्थयात्रीलाई अनुरोध गरेको छ ।
हिमपातका कारण सामान्य प्रभाव परेको बताइएको छ । हिमपातका कारण तीर्थयात्रीको आवतजावतमा सामान्य प्रभाव परेको बताइएको छ । रातभर हिउँ परेपछि बिहान पुगेका तीर्थयात्रीले पाथीभराको दर्शनसँगै हिउँ खेल्ने मौकासमेत पाएका छन् । मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा/हिमपातको सम्भावना
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।