अजमान(युएई),९ मंसिर । निरज कुमार यादवको शतकमा एसीसी पुरुष यु–१९ प्रिमियर कपमा विजयी सुरुवात गरेको छ।
नेपालले संयुक्त अरब इमिरेट्स (युएई)को अजमानस्थित करवान ग्रुप मैदानमा आज भएको उद्घाटन खेलमा साउदी अरबियालाई ८ विकेटले हराएको छ।
जितको लागि २ सय १९ रनको लक्ष्य नेपालले ३०.४ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर निरज र वंश क्षेत्रीले पहिलो विकेटको लागि ६३ रनको साझेदारी गर्दै राम्रो सुरूवात दिलाए।
छैटौं ओभरको पाँचौं बलमा मोहम्मद जुबेर सुनसाराको बलमा वंश ३० रनमा आउट भए। उनले २० बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे।
त्यसपछि निरज र निश्चल क्षेत्रीले दोस्रो विकेटका लागि १ सय ५५ रनको साझेदारी गर्दै टोलीलाई जित नजिक पुर्याए। स्कोर बराबरी भएको अवस्थामा निरज ३१औँ ओभरमा हाशिर अहमद सज्जादद्वारा बोल्ड आउट भए। उनले ९० बलमा १३ चौका र एक छक्कासहित १ सय १४ रनको सानदार शतकीय पारी खेले।
निश्चलले ७३ बलमा पाँच चौका र एक छक्कासहित ६६ रनमा अविजित रहे। सिब्रिन श्रेष्ठले सामना गरेको पहिलो बलमै एक रन जोडेर नेपाललाई जित दिलाए।
त्यसअघि पहिले ब्याटिङ गरेको साउदीले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय १८ रन बनाएको थियो। मोहम्मद जुबेर सुनसाराले ७६ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४८ रन बनाए।
मोहम्मद रेहान सिद्दीकीले ५९ बलमा ३ चौकासहित ४१ रन जोडे। ओमै अहमद वहाबले ३७ बलमा ३ चौका र ३ छक्कासहित ३९ रन बनाएका थिए।
बलिङमा अशोक धामीले २ विकेट लिए। दर्श सोनार, सिब्रिन श्रेष्ठ, सुशील बहादुर रावल र दयानन्द मण्डलले समान एक विकेट झारे। नेपालले दोस्रो खेल बिहीबार हङकङसँग खेल्नेछ।


















