Prakash Adhikari August 25, 2018

भीमदत्त नगर(कञ्चनपुर),९ भदौ । निर्मला पन्त हत्याकाण्डको शुरुदेखि अनुसन्धान गर्ने र दोषीलाई कानूनको दायरमा ल्याउने स्थानीय प्रशासनको आश्वासन पछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आज छुट्टाछुट्टै बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले अनुसन्धानलाई टुंंगोमा पुर्याउन जारी आन्दोलन र विरोध कार्यक्रम स्थगित गर्न सर्वसाधरणमा पनि अपिल गरेको छ।

बैठकले तत्काल नै विरोध बन्द गरी घटनाका विषयमा गृहमन्त्रालयको उच्चस्तरीय छानबिन टोलीलाई अनुसन्धान गर्नमा सहज वातावरण बनाइदिन हुन नागरिक समाज, व्यापारी, व्यवसायी, विभिन्न महिला तथा मानवअधिकारकर्मीलगायत सबैमा अपिल गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताउनुभयो ।

सर्वपक्षीय बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रजिअ अधिकारीले आन्दोलनका क्रममा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका भीमदत्तनगरपालिका–१८ का किशोर सनी खुनालाई शहीद घोषणा गर्न र मृतक खुनाका परिवारलाई उचित क्षतिपूर्ति दिन सङ्घीय, प्रदेश नं ७ र स्थानीय नगरपालिकालाई अनुरोध गर्ने बैठकले निर्णय गरेको बताउनुभयो।

मृतक खुनाका परिवारलाई भीमदत्त नगरपालिकाले आर्थिक सहयोग स्वरुप ३ लाख रुपैया सघाउने घोषणा गरेको छ ।

त्यसैगरी बैठकले निर्मला हत्याकाण्डपछि भएका आन्दोलनका क्रममा घाइते भएकाको उपचार र शारीरिकरुपमा अशक्त भई कठिनाइ भएकाको जीविकोपार्जनका लागिसमेत सरकारसँग माग गर्ने निर्णयमा सहमति भएको छ।

सर्वदलीय बैठले सन्नी खुनालाई सहिद घोषणा गर्न सरकारलाई आग्रह गरेको छ ।

निर्मलाको वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै थालिएको प्रदर्शनमा बुबाले गरेको कामको पारिश्रमिक लिन ठेकदारकहाँ जादै गरेका भीमदत्त नगरपालिका–१८ सालघारीका १४ बर्षिय बालक सन्नी खुनाको शुक्रबार प्रहरीको गोली लागी निधन भएको थियो ।

शनिबार बसेको सर्वदलीय बैठकले मृतकलाई सहिद घोषणा गर्न र पीडित परिजवारलाई उचित राहत उपलब्धि गराउन स्थानीय, प्रदेश र संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

आन्दोलनका क्रममा भएको तोडफोड तथा प्रहरीले गोली चलाएको विषयमा निश्पक्ष छानविनका लागि समिति गठन गर्न गृहमन्त्रालयलाई अनुरोध गरेको छ । बैठकले विरोधका कार्यक्रम स्थगित गर्न र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दल, नागरिक समाज लगायत सबैलाई आग्रह गरेको छ ।

आन्दोलनका क्रममा  सरकारी निजी सम्पत्तीको तोडफोड आगजनी र भिड नियन्त्रणको सिलसिलामा भएको दमन गोली चलाएको विषयमा छानबिन र कार्बाहीका लागि गृह मन्त्रालयमा छानबिन समिति गठन गर्ने माग गर्ने र भविष्यमा कुनैपनि अप्रिय घटना दोहोरिन नदिन र सदभाव कायम गर्नका लागि राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी, महिला अधिकारकर्मी र व्यवसायी , दवाव समुह एकमत भएका छन् ।

निर्मला पन्तको विषयमा बिरोधका कार्यक्रम पनि आजका मितिदेखि बन्द गर्ने सहमति भएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीले कर्फ्यू हटाउने नहटाउने विषयमा सुरक्षा निकायसंग छलफल र स्थिति हेरेर हटाउन सकिने बताए । उच्च स्तरिय समितिका संयोजक सह–सचिव हरप्रसाद मैनाली नेतृत्वको छानबिन समितिले सरकारले दिएको कार्यादेश अनुसार घटनाको छानबिन शुरु गरिएको जनाएको छ ।

खुनाका बाबु वीरबहादुर खुनाले शहिद घोषणा, क्षतिपूर्ति, दोषिलाई कार्बाही नगरुन्जेलसम्म शव नबुझ्ने बताउनुभएको छ । ‘मजदुरी गरेको ज्याला माग्न गएका छोरालाई प्रहरीले मारिदियो, ‘उहाँले भन्नुभयो , ‘सरकारले छोरालाई शहिद घोषणा गर्नुपर्छ ।’ खुनाका छिमेकी संगिता दमाईले शान्तिपुर्ण आन्दोलनमा प्रहरीले ताकेरै गोली प्रहार गरेको बताउनुभयो । खुनाको शव महाकाली अञ्चल अस्पतालमा राखेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मला हत्याकाण्डको अनुसन्धान ‘जिरो’ अर्थात शुरुदेखि गर्न लागेको छ । कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले निर्मला हत्याकाण्ड शुरुवातदेखि नै अनुसन्धान गर्ने बताउनुभएको छ ।

यस्तै गम्भिर घाईते भएका भीमदत्त नगरपालिका–१ भाँसीका १६ बर्षिय उमेर देउवाको शुक्रबार कोहलपुर मेडिकल कलेजमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौँ रेफर रिएको छ ।

घाईते देउवाका काका बिरेन्द्र देउवाले उमेको खुट्टामा गोली लागेको बताउनुभयो । दोहोरो झडपमा परी महाकाली अञ्चल अस्पताल स्रोतका अनुसार प्रहरी सहित ३५ भन्दा बढि प्रर्दशनकारी घाईते भएका थिए ।

महेन्द्रनगरमा म १ प ४४६ नम्बरको एम्बुलेन्स तोडफोड गरिएको थियो ।

झलारीदेखि बिरामी बोकेर महेन्द्रनगर तर्फ आईरहेको सुनबरा कृषि सहकारी संस्थाको एम्बुलेन्स कसले तोडफोड गरेको भन्ने विषयमा अहिलेसम्म केही खुलेको छैन् । प्रहरीले प्रर्दशनकारी र प्रर्दशनकारीले प्रहरीलाई एम्बुलेन्स तोडफोड गरेको आरोप लगाईरहेका छन् ।

महाकाली अञ्चल अस्पतालले सुरेन्द्र चटौत, चेतन भट्ट, उमेश देउवा, दामोदर खाती, कविन्द्र सिहको थप उपचारका लागि रेफर गरेको थियो । बाँकीको महाकाली अञ्चल अस्पतालमै उपचार भईरहेको छ ।

रोशनी र अनिता पक्राउ

१३ वर्षीय निर्मला पन्तको हत्या अनुसन्धानका लागि प्रहरीले उनकी साथी रोशनी बम र रोशनीकी दिदी अनिता बमलाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका वडानम्बर १८ स्थित आफ्नै घरबाट बम दिदी बहिनी पक्राउ परेका हुन् ।

गृहकार्य गर्न तथा नोटबुक लिनका लागि रोशनीको घर गएकी निर्मला त्यहीबाट बेपत्ता बनेकी हुन् । अनुसन्धानका लागि रोशनीका दिदीबहिनीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर एसपी कुबेर कडायतले जानकारी दिनुभएको छ ।

निर्मला पन्त घरमा नआएपछि निर्मलाकी आमाले घरमा आइन त भन्दा बबिताले ‘पोइल गइहोला’ भनेर जवाफ फर्काएकी जानकारी निर्मलाकी आमाले दिनुभएको छ ।

स्थानीय बासीको भनाइ अनुसार दिदीबहिनी दुई जना मात्र बस्ने उक्त घरमा एसपी डिल्लीराज विष्टका छोरा र मेयर सुरेन्द्र विष्टका भतिज सधै जस्तो आइरहन्थे । यहि बिषयलाई लिएर प्रहरीले दुवैलाई प्रक्राउ गरेको हो ।

Share Now

Leave a comment.