Prakash Adhikari December 4, 2025
काठमाडौँ, १८ मङ्सिरः  किराँतहरुले मनाउने उधौली पर्व, नेवार समुदायले मनाउने योमोरी पुन्ही र धान्य पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा शुभकामना दिनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको राष्ट्रपतिले सन्देशमा बताउनुभएको छ ।
“विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीको रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह भएको छ । यस पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्ध, वातावरण अनुकूल जीवन व्यवस्थापन, एकता, सहकार्य, सांस्कृतिक संरक्षण, श्रमको सम्मान, पूर्वजप्रतिको आस्थालाई अझ मजबुत बनाउन सहयोग पु¥याएको महसुस गरेको छु”, सन्देशमा उहाँले भन्नुभएको छ ।
उधौली पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास राष्ट्रपतिले सन्देशमा व्यक्त गर्नुभएको छ ।
किराँत समुदायका मूलत राई, लिम्बु, सुनुवार र याक्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रमका साथ मनाउने गरेका छन् ।
उधौलीपर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनुका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा पनि गर्ने गरिन्छ ।
हाम्रा पर्वले नेपाललाई विविधतामा एकता चिनाउने अवसर प्रदान गर्दै आएका छन्ः उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले देशमा मनाइने हरेक पर्वले देशलाई विविधतामा एकता, परम्परामा गौरव र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गर्दै आएको बताउनुभएको छ ।
उधौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उपराष्ट्रपति यादवले भन्नुभएको छ, “नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र जनताको अधिकारलाई आत्मसात् गर्दै समावेशी, न्यायपूर्ण र समृद्ध समाज निर्माणतर्फ प्रतिबद्ध भई अग्रसर हुन यस पर्वहरूले पनि उत्प्रेरित गर्न सकोस् ।”
किराँत समुदायको पर्व उधौलीलाई प्रकृतिप्रति श्रद्धा, कृतज्ञता र सामूहिक एकताको प्रतीक मान्ने गरिएको छ । राई, लिम्बू, सुनुवार, याक्खालगायतका समुदायले यस पर्वलाई परम्परागत नृत्य, गायन र सांस्कृतिक कार्यक्रममार्फत धुमधामका साथ मनाउँछन् ।
उहाँले भन्नुभएको छ, “यस अवसरमा आयोजना हुने ‘साकेला’ नृत्यले प्रकृति र जीवनबीचको गहिरो सम्बन्धलाई उजागर गर्दै नेपाललाई मौलिक परम्पराले सम्पन्न राष्ट्रका रूपमा चिनाउने कार्य गर्दछ ।”
‘ज्यापु दिवसले नेवाः संस्कृति हस्तान्तरण गर्ने अभियानलाई बल प्रदान गरेको छ’
उपराष्ट्रपति यादवले ज्यापू दिवसले नेवाः संस्कृतिको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियानलाई बल प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । यःमरि पुन्हींः (धान्यपूर्णिमा) तथा ज्यापू दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि कामना गर्नुभएको हो ।
उपराष्ट्रपति यादवले भन्नुभएको छ, “मौलिक बाजा धिमेको तालमा प्रस्तुत गरिने झाँकीहरूले हाम्रो रैथाने परम्परालाई जीवन्त राख्दै सांस्कृतिक पहिचानलाई उजागर गर्न सहयोग पुग्दछ । नेवार समुदायको प्रमुख पर्व यःमरि पुन्हींः (धान्यपूर्णिमा) नयाँ अन्नप्रति  कृतज्ञता व्यक्त गर्ने अवसर प्रदान गर्दछ, यस अवसरमा ‘यःमरि’ तयार गरी देवीदेवता, पूर्वज तथा आफन्तलाई अर्पण गरिने मौलिक परम्परा रहिआएको छ, जसले समर्पण, समृद्धि र सामाजिक एकताको सन्देश बोकेको छ । यसै दिनदेखि पूर्वी नेपालमा ‘भक्का’ पकाउने परम्परा सुरु हुने मान्यता पनि हाम्रो सांस्कृतिक विविधताको विशेषता हो ।”
उहाँले यःमरि पुन्हींः (धान्यपूर्णिमा) र ज्यापू दिवसले सामाजिक सद्भाव, सांस्कृतिक गौरव र राष्ट्रिय एकताको मार्गमा सकारात्मक अग्रसरताका लागि प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
पर्वहरूले समाजमा एकता र सद्भावना बढाउँदै आएका छन्ः कावा सभापति खड्का
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली समाजमा मनाइनृ पर्वले एकता र सद्भावना बढाउँदै आएका उल्लेख गर्नुभएको छ ।
उँधौली र यःमरि पुन्हिका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले विविधतायुक्त राष्ट्र नेपालमा विभिन्न भाषा, धर्म, संस्कार, समुदाय र जातजातिका आफ्नै विशिष्ट परम्परा र संस्कृति रहेको स्मरण गर्नुभयो ।
कावा सभापति खड्काले मुलुकमा एकअर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान तथा आदर गर्ने आफ्नै विशिष्ट पहिचान रहेको पनि उल्लेख गर्नुभएको छ । उहाँले किराँत समुदायको महत्त्वपूर्ण पर्व उँधौली, ज्यापू समुदायको सांस्कृतिक पहिचान बोकेको यःमरि पुन्हि (ज्यापू दिवस) र समृद्धिको प्रतीक धान्य पूर्णिमाका अवसरमा सबैमा सुस्वास्थ्य, दीर्घायुको शुभकामना दिनुुभएको छ ।
कावा सभापति खड्काले यी पर्वहरूले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।
Share Now