कीर्तिपुर(काठमाडौं), १८ मंसिर । ओपनर बेन चाल्र्सवर्थ र नेपाली ब्याटर भीम सार्कीको अर्धशतकमा काठमाडौं गोर्खाजले पोखरा एभेञ्जर्ससंग १ सय ६६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आजको खेलमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६५ रन बनाएको हो ।
खेलमा ओपनर चार्ल्सवर्थले ५५ बलमा ६४ रन बनाए । एक छेउबाट निरन्तर विकेट जाँदा पनि अर्को छेउबाट काठमान्डुको इनिङ्स सम्हालेका उनले १९औं ओभरसम्म क्रिजमा बिताएका थिए । चार्ल्सवर्थले ५ चौका र २ छक्का प्रहार गरे ।
यस्तै आक्रमक ब्याटिङ गरेका भीम शार्कीले एनपीएलमा यस सिजन संयुक्त रुपमा सबैभन्दा छिटो १९ बलमा अर्धतशक प्रहार गरे । भीमले २३ बल खेल्दै ५ चौका र ४ छक्का मदतमा ५५ रन बनाए ।
७९ रनमा ५ विकेट गुमाएको काठमान्डुका लागि चार्ल्सवर्थ र भीम शार्की मिलेर छैटौं विकेटका राम्रो रनको साझेदारी गरे ।
अर्का ओपनर आकाश त्रिपाठी खाता नखोल्दै धनन्जय लक्षनको बलमा बोल्ड भए । त्यसपछि आएका रासिद खान ७ रन जोडेर आउट भए । चार्ल्सवर्थ र मिलिन कुमार मिलेर काठमान्डुको इनिङ्स अगाडि बढाउने प्रयास गरेका थिए । तर ३३ रनको साझेदारी पछि मिलिन्द कुमार १३ रन बनाएर दशौँ ओभरमा आउट भए । विकेटकिपर जोन सिम्पसन २ र मोहम्मद आदिल आलम ७ रनमा आउट हुँदा काठमान्ठुले ७९ रनमै ५ विकेट गुमाएको थियो ।
तर सातौं नम्बरमा ब्याटिङ गरेका भीम शार्कीले ओपनर चार्ल्सवर्थसँग राम्रो साझेदारी गरे ।
बलिङमा पोखराका लागि धनन्जय लक्षनले ४ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै कप्तान कुशल भुर्तेलले २ तथा विपिन खत्री र किरण ठगुन्नाले समान १ । १ विकेट लिए ।


















