काठमाडौं,१५ भदौ । पुरानो सम्झौताका केही प्रावधानमा परिमार्जन गर्न नेपाली पक्ष तयार भए पनि पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीले उक्त आयोजना आर्थिक रूपले उपयुक्त नदेखिएको जानकारी नेपाली अधिकारीहरूलाई गराएको नेपाल लगानी बोर्डले जनाएको छ।
विगतमा अस्ट्रेलियाली कम्पनी स्मेकले हात झिकेको उक्त ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना चिनियाँ कम्पनी थ्री गोर्जेजलाई दिइएसँगै कामले गति लिने अपेक्षा गरिएको थियो।
माग
तर चीनमा ठूलो आयोजना निर्माण गरेर ख्याति कमाएको थ्री गोर्जेजले पश्चिम सेतीको निर्माण सुरु नगरी विद्युत् खरिद दर बढाउनु पर्ने, डलरमा विद्युत् खरिद गर्ने समयलाई १० वर्षबाट बढाउनुपर्ने लगायतका माग अघि सारेको थियो।
तिनै विषयमा दुई दिनसम्म नेपाली अधिकारीहरू र थ्री गोर्जेजका अध्यक्षसहितको टोलीबीच काठमाण्डूमा छलफल भएको थियो।
उक्त छलफलमा आयोजनाको क्षमता ६०० मेगावाट सम्म झार्न अनि डलरमा विद्युत् खरिद समयलाई १२ वर्ष सम्म लम्ब्याउन नेपाली पक्ष तयार भएको बताइएको छ।
तैपनि चिनियाँहरूले अझै आयोजना आर्थिक रूपले सम्भाव्य नहुने धारणा बैठकमा राखेको उक्त बैठकमा सहभागी नेपाली अधिकारीहरूको भनाइ छ।
कारण के ?
लगानी बोर्डद्वारा जारी विज्ञप्तिमा प्राविधिक, पुनर्वास तथा पुनर्स्थापना लगायतका अन्य धेरै विषयका कारण उक्त परियोजना वित्तीय रूपले अझै सम्भाव्य नरहेको जानकारी थ्री गोर्जेजले दिएको जनाइएको छ।
दुई पक्षबीच भएको वार्तालगत्तै थ्री गोर्जेजको टोलीले अर्थमन्त्री र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रीसँग भेटेर छलफल गरेको थियो।
उक्त भेटमा पनि उनीहरूले आयोजना अगाडी बढाउन समस्या रहेको बताएका थिए।
सरकारका तर्फबाट उनीहरूलाई आश्वस्त पार्न प्रयास गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बताए।
बिहीवारको छलफलका आधारमा नेपाल लगानी बोर्डले अन्तिम निर्णय लिने जानकारी थ्री गोर्जेजलाई गराएको बताइएको छ।
बोर्डको निर्णय आदर गर्ने चिनियाँ टोलीले जनाएको पनि बताइएको छ।
विसं २०६८ सालमा पश्चिम सेती आयोजना अगाडि बढाउन समझदारी भएको थियो।
जसअनुसार गत वर्ष थ्री गोर्जेज र नेपाल विद्युत् प्राधिकरणबीच संयुक्त लगानी सम्झौता पनि भइसकेको थियो।
(बीबीसीबाट)