ढाका(बंगलादेश), ११ पौष । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिगको आफ्नो टीमको पहिलो खेलमा दुई विकेट लिएका छन् । उनी आबद्ध राजशाही वारियर्सले सिल्हेट टाइटन्सलाई ८ विकेटले पराजित गरेको छ।
शुक्रबार सम्पन्न खेलमा सिल्हेटले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको राजशाहीले अन्तिम २ बल बाँकी रहँदा २ विकेट गुमाएर १ सय ९२ रन बनायो।
यो जितसहित सन्दीप आबद्ध राजशाहीले २ अंक जोडेको छ।
राजशाहीका कप्तान नजमुल हुसेन शान्तोले अविजित शतक पूरा गरे। ६० बल खेलेका उनले १० चौका र ५ छक्कासहित १ सय १ रन बनाए।
मुशफिकुर रहिमले ३१ बलमा ४ चौका र २ छक्कासहित अविजित रहँदै ५१ रनको योगदान दिए। यी दुईबीच तेस्रो विकेटका लागि १ सय ३२ रनको साझेदारी भयो।
साहिबजादा फरहान २० र तान्जिद हसन १० रनमा आउट भए।
राजशाहीलाई रोक्ने क्रममा सिल्हेट टाइटन्सका खालिद अहमद र मेहदी हसन मिराजले समान १ । १ विकेट लिए ।
त्यसअघि सिल्हेट अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९० रन बनाएको थियो।
सिल्हेटका परवेज हुसेन इमनले सर्वाधिक ६५ रन बनाए। ३३ बल खेलेका उनले ४ चौका र ५ छक्का प्रहार गरे। रोनी तालुकदारले ३४ बलमा ४ चौकासहित ४१ रनको योगदान दिए।
आफिफ हुसेन ३३, साइम अयुब २८ र हजरतुल्लाह जजाई २० रनमा आउट भए।
सिल्हेटलाई रोक्ने क्रममा नेपालका सन्दीपले सर्वाधिक २ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३८ रन खर्चिए। बिनुरा फर्नान्डो र तन्जिम हसन सकिबले समान १ । १ विकेट लिए।


















