Prakash Adhikari January 7, 2026

 

काठमाडौं, २३ पौष । राष्ट्रिय सभा निर्वाचनको लागि नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवारहरुको टुंगो लगाएका छन्। यही माघ ११ गते हुने निर्वाचनका लागि आज उम्मेद्वारी दर्ता गर्ने दिन भएकोले दलहरुले उम्मेद्वारहरुको टुंगो लगाएका हुन् ।

स्थानीय तहका प्रमुख उपप्रमुख र प्रदेश सांसदहरु मतदाता रहने यो निर्वाचनका १९ पदमा नेपाली कांग्रेस, एमाले र उपेन्द्र यादवबीच सहमति गरेर उम्मेद्वार दिने तय भएको छ ।

सहमति अनुसार नेपाली कांग्रेसले ९ नेकपा एमालेले ७ सीटमा उम्मेदवार तय गरिसकेका छन् ।

काँग्रेसले कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेश प्रदेशबाट धर्मेन्द्र पासवान र रन्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना, लुम्बिनी प्रदेशबाट बासुदेव घिमिरे (जंगली) र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितजंग शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाएको छ ।

कांग्रेसमा शेखर कोइराला पक्षले मधेशबाट रञ्जित कर्ण, लुम्बिनीबाट बासुदेव जंगली बागमतीबाट गीता देवकोटा उम्मेदवार अघि सारेको हो। बाँकी उम्मेद्वार सबै सभापति शेरबहादुर देउवानिकट हुन्।

नेकपा एमालेले आफ्नो भागका सबै उम्मेद्वार तय गरेको छ । एमालेले कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेल, मधेश प्रदेशमा रेखा झा, बागमतीमा प्रेम दंगाल र गण्डकी प्रदेशमा सम्झना देवकोटालाई राष्ट्रिय सभा उम्मेदवार बनाउने भएको छ ।

यसैगरी एमालेले लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लिला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेकपाले सबै प्रदेशबाट दियो उम्मेद्वार

राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले पनि उम्मेदवार चयन गरेको छ । कांग्रेस एमालेसँग गठबन्धनको प्रयास असफल भएपछि नेकपाले सबै सिटमा उम्मेदवार चयन गरेको हो ।

नेपाली कम्युनिस्ट पार्टीले गण्डकीमा एक उम्मेदवार खाली छाडेर १७ उम्मेदवार मात्र चयन गरेको छ ।

नेकपाले कोशीबाट खेमराज सुन्दास, हेमराज घिमिरे, नमिता न्यौपाने मधेशबाट रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान​ र समिकुमारी अग्रवाल बागमतीबाट प्रेमप्रसाद सापकोटा र सरोजकुमारी झालाई उम्मेद्वार बनाएको छ ।

नेकपाले गण्डकीबाट कपिल लामा,लुम्बिनीबाट दुर्गा भण्डारी, वृहस्पति अधिकारी र सर्जन बिक, कर्णालीबाट बुद्धिप्रसाद शर्मा र अन्जु महतारा सुदूरपश्चिमबाट टीकाराम जैशी र रोजी बस्नेत सुनारलाई उम्मेद्वार बनाएको छ ।

 

Share Now