गनी अन्सारी
बीबीसी न्यूज नेपाली
काठमाडौं, २९ पौष । नेपाली कांग्रेस संस्थापन पक्षसँग मङ्गलवार एक चरणको वार्ता गरिसकेको विशेष महाधिवेशन पक्षले नेतृत्व परिवर्तनमा केन्द्रित भई अर्को चरणको वार्ता गर्ने एक नेताले बीबीसीलाई बताउनुभएको छ।।
नेता गुरुराज घिमिरेले पहिलो चरणमा विधान संशोधन, पछिल्लो राजनीतिक परिवर्तनका विषयमा आफूहरूको दृष्टिकोण राखेको बताउनुभयो ।
“हाम्रा कुरा रमेश लेखक र बालकृष्ण खाँणज्यूले ध्यानपूर्वक सुन्नुभयो र नोट गर्नुभयो। छलफल गरेर फेरि बस्ने भन्नुभयो”, घिमिरेले बीबीसी न्यूज नेपालीसँग भन्नुभयो ।
विशेष महाधिवेशनको निर्वाचन समितिले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन मङ्गलवार नै भृकुटीमण्डपमा हुने भन्दै कार्यतालिका प्रकाशित गरेको छ।
केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जारी गरेको सूचनामा मतदान राति ९ बजे आरम्भ हुने उल्लेख छ। त्यसअघि मतदाता नामावली प्रकाशन, मनोनयनपत्र दर्ता, उम्मेदवारको नामावली प्रकाशन, दाबीविरोध, दाबीविरोधको छानबिन, मनोनयन दर्ता फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशनसहितका कार्य हुने छन्।
सहमतिको प्रयास जारी
दुई पक्षबीच दोस्रो चरणको वार्ता मङ्गलवार दिउँसो २ः३० बजेपछि हुने नेताहरूले बताएका छन्।
“अब दोस्रो चरणको वार्ता नेतृत्व परिवर्तनमा केन्द्रित हुन्छ। सहमति भएन भने विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुको विकल्प रहँदैन”, विशेष महाधिवेशन पक्षधर नेता घिमिरेले स्पष्ट पार्नुभयो ।
दुई महामन्त्रीको नेतृत्वमा संस्थापनइतर पक्षले विशेष महाधिवेशन आयोजना गरेपछि आन्तरिक विवादको उत्कर्षमा पुगेको नेपाली कांग्रेसका नेताहरू अहिले छलफलमा जुट्नुभएको हो ।
दुईदिने भनिएको महाधिवेशनको दोस्रो दिन अन्त्यतिर आइपुग्दा संस्थापन पक्ष र विशेष महाधिवेशन आयोजक पक्षबीच सुलहका लागि वार्ताटोली बनाएर सार्वजनिक गरिएको थियो।
कतिपय जानकारका अनुसार फुटतर्फ उन्मुख नेपाली कांग्रेसलाई एकताबद्ध राख्दै अगाडि बढाउने दिशामा यो वार्ताको नतिजा महत्त्वपूर्ण हुन सक्छ।
बीबीसीसँग कुरा गरेका दुई पक्षका नेताहरूले आआफ्नो अडान सुनाउँदै फुटको सम्भावनालाई अस्वीकार गर्नुभएको छैन ।
कोको छन् वार्तामा ?
वार्ता प्रक्रियामा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू बालकृष्ण खाँण, रमेश लेखक, गुरुराज घिमिरे, देवराज चालिसे, प्रदीप पौडेल र मधु आचार्य संलग्न रहनुभएको नेताहरूले बताउनुभएको छ ।
“अहिले कांग्रेसभित्र देखिएको विषयमै हाम्रो कुराकानी हो”, वार्ता आरम्भव हुनुअघि नेता बीबीसी न्यूज नेपालीसँग सङ्क्षिप्त कुरा गर्दै नेता पौडेलले भन्नुभयो ।
शेरबहादुर देउवासँग निकट मानिने नेता लेखकले पछिल्लो समय उत्पन्न परिस्थितिबारे नै छलफल सुरु भएको बताउनुभयो ।
“खास गरी विशेष महाधिवेशन आह्वान र त्यसपछि उत्पन्न परिस्थितिबारे कुराकानी गरिरहेका हौँ। निकास खोजेर पार्टीलाई एकताबद्ध बनाइराख्ने भन्ने हो”, लेखकले भन्नुभयो।
केन्द्रीय कार्यसमितिले नबोलाई महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको परामर्शमा विशेष महाधिवेशन बोलाइएपछि विवाद उत्पन्न भएको लेखकले दाबी गर्नुभयो ।
दुवै पक्षबीच वार्ता भइरहँदा मङ्गलवार बिहानका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक केही घण्टापछि सरेको छ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातवटै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन भनिएको थियो।
स्वामित्व लिन आग्रह
वार्तामा सहभागी दुवै पक्ष आआफ्ना अजेन्डासहित उपस्थित भएका त्यसबारे जानकार नेताहरूले बताउनुभएको छ।
विशेष अधिवेशन पक्षधरहरू जारी अधिवेशनको अपनत्व सिङ्गो पार्टीले लिनुपर्ने, देउवा अब संरक्षकको भूमिकामा रही सक्रिय राजनीतिबाट ओझेल हुनुपर्ने लगायतका मागसहित उपस्थित भएको बुझिएको छ।
उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पनुभएका देउवाले डडेलधुराबाट अन्तिम पटक चुनाव लड्ने बताइएको छ।
“अब उहाँले पार्टी संरक्षकको हिसाबले योगदान दिनुपर्छ। जीवनको उत्तरार्धमा अब उहाँबाट सबैले अपेक्षा गरेको त्यही हो”, विशेष महाधिवेशनमा देखिने गरेका नेता महेश आचार्यले बीबीसी न्यूज नेपालीसँग भन्नुभयो।
जारी विशेष महाधिवेशनको अपनत्व संस्थापन पक्षले लिनुपर्ने मत पनि उहाँको छ। “त्यत्रा साथीहरू विशेष महाधिवेशनमा आउनुभएको छ। त्यहाँ उहाँ शेरबहादुर देउवो जानुपर्यो, स्वामित्व लिनुपर्यो। विधानको रटान लगाएर भएन”, उहाँले थप्नुभयो।
जारी विशेष महाधिवेशनलाई नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको एउटा पुँजीका रूपमा लिनुपर्ने आचार्यको तर्क छ।
संस्थापन पक्षले ‘राजनीतिक विवेक प्रदर्शन नगरेमा’ कांग्रेस विभाजित हुन सक्ने सम्भावना उहाँले औँल्याउनुभयो ।
“अब यसलाई फुट भन्नुहुन्छ अथवा अर्को कुनै पदावली प्रयोग गर्नुहुन्छ बहुमत महाधिवेशनका साथीहरूले एउटा निर्णय गरेपछि त्यो निर्णयले एउटा कोर्स त लिन्छ नै”,आचार्यले अगाडि थप्नुभयो ।
फुट्न पनि सक्छ
कांग्रेस सभापति देउवानिकट मानिने नेता मीनबहादुर विश्वकर्माले पनि पार्टी फुट्न सक्ने सम्भावनालाई नकार्नु भएन ।
जेठ मसान्तसम्म कार्यावधि भएका पदाधिकारीहरूको पदावधि सकियो भन्ने हक केन्द्रीय कार्यसमितिलाई मात्र भएको भन्दै विशेष महाधिवेशनको वैधतामाथि उहाँले प्रश्न गर्नुभयो
“त्यसका बावजुद पनि त्यहाँ चुनाव भयो, कमिटी बन्यो अनि दाबी गर्न थाल्नुभयो भने पार्टी विभाजनकै सँघारमा गयो”, बीबीसी न्यूज नेपालीसँग उहाँले भन्नुभयो ।
“पार्टी विभाजनमा नजाओस् भनेरै उहाँहरूले बोलाएको विशेष महाधिवेशन भनिएको भेलालाई कुनै एउटा नाम दिएर त्यसका दस्तावेजलाई पार्टीले ग्रहण गरी ुविन(विनुको अवस्थामा लैजान आएका साथीहरूलाई पनि सम्मान गर्ने, हुँदैन भनेको केही केन्द्रीय समितिको पद ग्रहण गरिदिने भनेर मेलमिलापको अवस्थामा पुर्याउने प्रयास हामीले गरिरहेका छौँ।”
जेन जी आन्दोलनपछि देउवा सक्रिय नदेखिए पनि आसन्न चुनावमा उठ्न नहुने कुरा विश्वकर्माले अस्वीकार गर्नुभयो ।
“पूर्ण अधिकार सम्पन्न सभापतिका रूपमा कार्यवाहक सभापतिलाई मान्ने कुरामा हामी सहमति नजिकनजिक पुगेका छौँ। तर कुन व्यक्ति चुनावमा उठ्न पाउने वा नपाउने, के खान हुने वा नहुने भन्ने जस्ता कुरा कोही लिएर आउँछ भन्ने त्यो मानवाधिकारविरोधी तर्क, मलाई लाग्छ, वार्ताको विषय हुन सक्दैन। उहाँहरूले पनि ल्याउनुहुन्न होला।”


















