काठमाडौं, २९ पौष। नेपाली कांग्रेसभित्रको विवाद समाधानउन्मुख हुँदै गएको वार्ताकारहरुले जनाउ दिएका छन्। आज दिनभरजसो भएको वार्तामा सहभागी एक नेताका अनुसार विशेष महाधिवेशनको स्वामित्व लिन मोटामोटी सहमति भएको हो ।
महाधिवेशनमा पेस भएका प्रतिवेदनलाई संस्थापान समूहले अध्ययन गर्ने र संस्थापन समूहबाट आएका सुझावलाई पनि प्रतिवेदनमा समावेश गर्ने विषयमा छलफल सकारात्मक भएको उहाँको भनाइ छ ।
कांग्रेसको विवाद अन्त्यका लागि त्रिपक्षीय वार्ता समिति गठन गरिएको छ । वार्तामा सभापति शेरबहादुर देउवाको समूहबाट रमेश लेखक र बालकृष्ण खाण सहभागी हुनुहुन्छ। त्यस्तै नेता शेखर कोइरालाको समूहबाट नेताहरू जीवन परियार र मीनेन्द्र रिजाल बस्नुभएको छ भने विशेष महाधिवेशनको पक्षबाट देवराज चालिसे, मधु आचार्य, प्रदीप पौडेल ।
वार्ता सकारात्मक मोडतर्फ गएपछि आज कार्यबाहक सभापति पूर्णबहादुर खड्काले बोलाउनुभएको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सुरु मात्रै भएर अन्त्य गरिएको छ । बैठक भोलिसम्मलाई सारिएको छ ।
अब वार्ताको लय अनुसार विशेष महाधिवेशनको निर्वाचन कार्यक्रम स्थगित गर्ने पालो विशेष महाधिवेशनका आयोजकहरुको जिम्मामा आएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पनि रातभरिमा विवादको सर्वसम्मत् समाधान खोजिने विश्वास व्यत्तः गर्नुभएको छ।


















