काठमाडौँ, ३ माघ । नेपाली सेनाका बलाध्यक्ष रथी गणेश कुमार श्रेष्ठ संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसन ‘युनाइटेड नेसन्स इन्टरिम सेक्युरिटी फोर्स फर अब्येईु (युनिस्फा)’ को फोर्स कमाण्डरमा नियुक्त हुनुभएको छ। यस महत्वपूर्ण जिम्मेवारी सम्हाल्न उहाँ माघ ३ गते शनिवार कार्यक्षेत्रतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले गत मङ्सिर १६ गते रथी श्रेष्ठलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गर्नुभएको थियो। यो नियुक्ति नेपाली सेनाका लागि विशेष ऐतिहासिक उपलब्धि मानिएको छ। संयुक्त राष्ट्र सङ्घका विभिन्न शान्ति मिसनहरूमध्ये युनिस्फामा नेपाली सेनाले पहिलो पटक फोर्स कमाण्डरको उच्च पद प्राप्त गरेको हो।
यसअघि सन् १९९३ देखि हालसम्म नेपाली सेनाका सात जना उच्च सैनिक पदाधिकारीहरूले विभिन्न पाँच वटा शान्ति मिसनहरूमा फोर्स कमाण्डरको रूपमा सफलतापूर्वक नेतृत्व गरिसकेका छन्। रथी श्रेष्ठको यो नियुक्तिसँगै राष्ट्र सङ्घीय शान्ति मिसनमा फोर्स कमाण्डरको जिम्मेवारी पाउने नेपाली सैनिक अधिकारीको सङ्ख्या आठ पुगेको छ।
नेपाली सेनाले यस किसिमको अन्तर्राष्ट्रिय जिम्मेवारीलाई नेपाल र नेपालीको छविका लागि गौरवको विषय मानेको छ। विश्वका द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनाका लागि नेपाली सेनाले खेल्दै आएको व्यावसायिक भूमिकाको उच्च कदर गर्दै राष्ट्र सङ्घले यो अवसर प्रदान गरेको हो।


















