Prakash Adhikari September 5, 2018

 

काठमाडौं, २० भदौ । नेपालको बीमा व्यवसायमा बीमितभन्दा एजेण्ट मोटाउने अस्वस्थकर अबस्था रहेकोमा सम्बन्धित क्षेत्रका विज्ञहरुले चिन्ता प्रकट गरेका छन् ।

शंकरदेव क्याम्पसले हालै राजधानीमा आयोजना गरेको ‘नेपालमा वित्त प्रणाली : नियमन र विकास, विद्यमान अवस्था खास मुद्दाहरु र संभावना’ सम्बन्धी गोष्ठिमा विज्ञ वक्ताहरुले सो चिन्ता व्यक्त गरेका हुन् ।

गोष्ठिमा कार्यपत्र प्रस्तुत गर्दै बीमा समितिका पूर्व अध्यक्ष डा.फत्तबहादुर के.सीले आफू समितिको अध्यक्ष रहदा गराएका अध्ययनको हवाला दिंदै भन्नुभयो, ‘बीमा कम्पनीहरुबीच कल्पना गर्नै नसकिने अस्वस्थ प्रतिस्पर्धा छ, त्यो बीमितलाई सुविधा दिन होइन, बीमितलाई तान्ने एजेण्टहरुलाई मात्र पोस्ने काम भएको छ ।’

एउटा कम्पनीले पहिलो बर्ष प्राप्त प्रिमियम रकमको ९० प्रतिशतसम्म एजेण्टलाई कमिशन दिएको उहाँले  बताउनुभयो ।

बीमा कम्पनीहरुले नयाँ विमितलाई ल्याउने एजेण्टलाई पहिलो बर्ष २५ प्रतिशत र दोस्रो बर्ष १५ प्रतिशत कमिशन सहजै उपलब्ध गराउने तर तेस्रो बर्षदेखि ५ प्रतिशत मात्र कमिशन पाउने भएकोले एजेण्टहरुले २ बर्ष ग्राहकलाई खोजी खोजी ल्याउने र तेस्रो बर्षदेखि एजेण्ट र ग्राहकको कुनै सम्पर्क नरहने स्थिति देखिएको उहाँले  बताउनुभयो ।

एकै एजेण्टले धेरै बीमा कम्पनीहरुले एजेण्ट भएर काम गर्ने सुविधा पाएकोले तेस्रो बर्षमा उसले नयाँ कम्पनीको पोलिसीतिर ग्राहकलाई भड्काउने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘यो ठमेलको होटलमा एजेण्टले गरेको सौदाबाजी जस्तै भएको छ ।’

ठमेलमा पर्यटक ल्याएबापत होटलवालाले एजेण्टलाई पहिलो र दोस्रो रातको बेड चार्जको ५० प्रतिशत शुल्क दिन्छन् । चलाख एजेण्टले एउटा होटलमा २ रात राखेपछि तेस्रो दिन अर्को होटलमा पर्यटकलाई सारेर फेरी ५० प्रशित कमिशन खान्छ । तेस्रो दिनदेखिको शुल्कबाट ग्राहकबाट नाफा लिउला भन्ने होटलवाला हेरेको हेर्यौ हुन्छ ।

एजेण्टहरु व्यवस्थित हुन नसक्दा बीमा गरेर विचमै छोड्ने वा सरेण्डर गर्नेहरुको संख्या पनि अधिक भएको उहाँले बताउनुभयो ।

बीमा समितिको स्वीकृति बेगर नेपालमा वीमा व्यवसाय शुरु गर्न नपाईनेमा तराई क्षेत्रमा विदेशी विमा कम्पनीको प्रवेशलाई रोक्न नसकिएको र नेपाल सरकारको स्वास्थ्य बीमा पनि समितिको मार्फत आउन नसकेको उहाँले उल्लेख गर्नुभयो ।

बीमा कम्पनीहरुले कुशलतापूर्वक लगानी गरेर देशको अर्थव्यवस्थालाई पनि गतिशिलता दिनुपर्नेमा धेरै कम्पनीहरुको काम बैंकको मुद्दतिमा रकम राखेर व्याज खानमा सीमित भएको पनि उल्लेख गर्नुभयो ।

बीमा विज्ञ डा. केसीले आफूले विमा कम्पनीहरुलाई केही निश्चित रकम देशको पूर्वाधार क्षेत्रमा लगानी गर्ने खालको व्यवस्था गर्न खोजेकोमा सो कार्यपूरा नहुँदै अवकाश पाएको उल्लेख गर्दै सरकारी ऋणपत्रमा लगानी गर्नुपर्ने प्रावधानको भने पालना भएको बताउनुभयो ।

उहाँले जीवन बीमाका क्षेत्रमा बार्षिक ५० अर्ब ९० करोड निर्जीवन बीमाका क्षेत्रमा करिब २२ अर्बको प्रिमियम संकलन भैरहेको नेपालमा बजारको समग्र अध्ययन बेगर राजनीतिक लहडमा इजाजत दिइएका नयाँ एक दर्जन कम्पनीले अस्वस्थ प्रतिस्पर्धालाई नै बढवा दिने बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट बैंक पूर्वकार्यकारी निर्देशक डा.गोपालप्रसाद भट्टले ‘नेपालको मुद्रा बजार मौद्रिक नीति : विद्यमान अवस्था,मुद्दाहरु तथा तरलता र वित्तीय स्थायीत्वमा तिनको प्रभाव’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने शंकरदेव क्याम्पसका डा.नवराज अधिकारीले ‘नेपालमा धितोपत्र र बस्तुविनिमय बजारको विकास र नियमनः विद्यमान अवस्था, मुद्दाहरु र संभावना’ का बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा डा.अच्यूत वाग्लेले’ नेपालको वित्तीय प्रणालीमा वित्तीय अवस्थाको सार्वजनिकीकरण’को अभ्यासका बारेमा प्रकाश पार्नुभएको थियो ।

नेपाल धितोपत्र बोर्डका कार्यकारी अध्यक्ष डा. रेवतबहादुर कार्कीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा नेपाल राष्ट बैंकका पूर्व कामु गभर्नर कृष्णबहादुर मानन्धरले वित्तिय प्रणालीको बारमा प्रकाश पार्नुभएको थियो ।

Share Now

Leave a comment.