Prakash Adhikari February 7, 2026
काठमाडौँ, २४ माघः आद्य शङ्कराचार्यपछि पहिलोपटक नेपालमा अष्टलक्ष्मी साधना सुरु गरिएको छ । लिच्छवी राजा जयदेवका पालामा विसं ८६५ तिर आद्य शङ्कराचार्य नेपाल आएर अष्टलक्ष्मी साधना गरेको र त्यसपछि अहिले रत्नपार्कस्थित शान्तिवाटिकामा आजदेखि यस प्रकारको अनुष्ठान सुरु गरिएको आचार्य किशोरकुमार नेपालले बताउनुभयो ।
आद्य शङ्कराचार्य नेपाल छिर्नुअघिसम्म अद्वैतवादी भएको र नेपाल आएपछि काठमाडौँ उपत्यकाकै घटनाबाट द्वैतवादी भएको पनि उहाँले उल्लेख गर्नुभयो । “काठमाडौँ आएपछि आद्य शङ्कराचार्यको शरीर चलेन । पानी तिर्खा लागेर पानी माग्दा कन्याले पानी लिएर आइन् । पानी पिउन दिँदा आद्य शङ्कराचार्यले शक्तिन भनेपछि ती कन्याले शक्ति छ भन्नुस् भनेपछि शरीर चल्न थालेको जनविश्वस छ”, नेपालले भन्नुभयो ।
यो घटनापछिदेखि आद्य शङ्कराचार्य द्वैतवादी हुनुभएको हो । यही घटनापछि आद्य शङ्कराचार्यले पशुपतिनाथमा षड्वक्त्रका रूपमा त्रिपुरासुन्दरीको पूजा परम्परा सुरु गर्नुभएको आचार्य नेपालले जानकारी दिनुभयो । जुन परम्परा अहिले पनि कायम छ । यही बेलामा आद्य शङ्कराचार्यले अष्टलक्ष्मीको साधना पनि गराउनुभएको थियो । अर्का एकथरी विद्वान् भने आद्य शङ्कराचार्य नभइ त्यसपछिका अरु कुनै शङ्कराचार्य काठमाडौँ आएर यी सब गरेको उहाँले बताउनुभयो ।
आद्य शङ्कराचार्यले अष्टलक्ष्मी साधना गराएको १ हजार २ सय वर्षपछि फेरि राजधानीमा ओम विश्व हिन्दू धर्म संरक्षण नेपालको आयोजनामा आजदेखि अष्टलक्ष्मी साधना सुरु भएको छ । देशलाई अराजकता र अशान्तिबाटमुक्त गराउन यो महायज्ञ आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष धनबहादुर कुँवर जङ्गेले राससलाई जानकारी दिनुभयो ।
कार्यक्रममा आचार्य किशोरकुमार नेपालले कथावाचन गर्नुहुनेछ । कार्यक्रमको पहिलो दिन आज नाथ सम्प्रदायका सन्तहरुलाई शान्तिवाटिकामा भण्डारासमेत गराइएको छ । शान्तिवाटिकामा गोरखनाथ र गोरखकालीको मूर्तिसमेत स्थापना गरेर दैनिक नित्य पूजा आराधना पनि भइरहेको छ । ओम विश्व हिन्दू धर्म संरक्षण नेपालले यहाँ गोरखनाथ र गोरखकालीको नित्य पूजा, आराधना गराइरहेको हो ।
Share Now