Prakash Adhikari February 8, 2026

काठमाडौं,२६ माघ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले स्मार्ट टेलिकम प्रालिमा फसेको ४ अर्ब ६० करोड ऋण उठाएको छ ।

बैंकले २०६२ सालमा नै पैसा उठाउन ३५ दिने सूचना प्रकाशन गरेर लिलामी प्रक्रियामा सुरु गरेको थियो । तर अहिले बैंकमा धितोमा रहेका स्मार्ट सेलका दूरसञ्चार उपकरण बिक्री गरेर ऋण असुली गर्ने सफलता उसलाई मिलेको छ ।

स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशीको व्यक्तिगत जमानीमा बैंकबाट कर्जा लिन धितो राखेको दूरसञ्चार उपकरण तथा सामग्रीहरू बेचेर बैंकले ४ अर्ब ६० करोड रुपैयाँ ऋण असुली गरेको हो ।

बैंकले आह्वान गरेको धितो लिलाम बिक्री प्रक्रियामा टान्सगेट टेक प्रालि, एनसेल आजियाटा प्रालि र प्रोफेसनल बिजनेसन नेटवर्क प्रालिले बोलपत्र पेस गरेका थिए । जसमध्ये टान्सगेटले ४४ करोड २० लाख, प्रोफेसनल बिजनेस नेटर्वकले ४२ करोड ५० लाख र एनसेल आजियाटाले ४ अर्ब ६० करोड रुपैयाँमा खरिद गर्ने बोलपत्र पेस गरेको बैंंकले जनाएको छ ।

सबैभन्दा बढी एनसेल आजियाटाले पेस गरेको सोही बोलपत्रको आधारमा बैंकले एनसेललाई ४ अर्ब ६० करोड रुपैयाँमै स्मार्ट सेलको नाममा बैंकका धितो कायम रहेको विभिन्न उपकरणहरू बिक्री गरेको हो ।

ऋण असुलीकै प्रक्रियाकै क्रममा स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई कर्जा चुक्ता गर्ने सम्बन्धमा पत्र लेख्नुभएको थियो । पत्रमा उहाँले आफू संलग्न रहेको स्मार्ट टेलिकम प्रालिले बैंकबाट विभिन्न कर्जा तथा बैंकिङ सविधा लिई उपभोग गरेकामा तिर्न नसकेको उल्लेख गर्नुभएको छ ।

‘यस कम्पनी तथा मैले समेत त्यस बैंकको कर्जा तथा बैंकिङ सुविधाबापतको रकम तिर्न सक्ने अवस्था नरहेकोले तपाईँ बैंकको नियमअनुसार सुरक्षणमा रहेको सामान तथा सम्पत्तिहरू लिलाम बिक्री गरी तपाईँ बैंकले यस ‘कम्पनीबाट लिनुपर्ने रकम असुल गर्नुहुन अनुरोध गर्दछौँ’, पत्रमा जोशीले भन्नुभएको थियो, ‘पछि सुरक्षणमा रहेको सामान तथा सम्पत्तिहरू कम मूल्यमा बिक्री गरेको वा त्यसरी लिलाम बिक्री गर्न पाउने होइन भनी कुनै पनि उजुरबाजुर गर्ने छैनौँ । गरेरगराएमा यसै पत्रबाट बदर गरिदिनुहोला भनी त्यस बैंकलाई मन्जुरीसहित यो पत्र लेखिदिएको व्यहोरा जानकारी गराउछौँ ।’

स्मार्ट टेलिकमका अध्यक्ष सर्वेश जोशीले २०८२ भदौ २० गते नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई पत्र पठाएपछि बैंकले ती उपकरण लिलामको प्रक्रिया अघि बढाएको थियो ।

बैंकले स्मार्ट टेलिकमलाई प्रोजेक्ट लोन दिएको थियो । तर स्मार्ट टेलिकम बन्द भएपछि कर्जा उठ्ने सम्भावना कम हुँदै गएको थियो । स्मार्ट टेलिकमले उपकरण बेचेर कर्जा उठाउन अनुमति दिएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अत्यन्त जोखिममा परेको अर्ब ६० करोड रुपैयाँ कर्जा असुलउपर गरेको हो ।

स्मार्ट टेलिकमविरुद्ध परेको एक मुद्दामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ऋणीसँग कुनै रकम लिन बाँकी नरहेको भनी गत पुस ३० गते प्रत्युत्तर लगाएपछि स्मार्ट टेलिकममा डुबेको रकम उठेको जानकारी सार्वजनिक भएको हो ।

Share Now