माले(माल्दिभ्स), २६ माघ। नेपाल पुलिस क्लब काभा महिला भलिबल क्लब लिगको उपाधि रक्षा गर्न चुकेको छ ।
माल्दिभ्सको मालेस्थित सोसल सेन्टर इन्डोर हलमा सोमबार राति सम्पन्न सेमिफाइनलमा पराजित भएसंगै उपाधि रक्षा गर्ने बाटो बन्द भएको हो । हिजो सम्पन्न खेलमा कजाकिस्तानको तुरान भलिबल क्लबसँग पुलिस ३–० को सोझो सेटमा पराजित भयो।
खेलमा सुरुआतदेखि नै दबाबमा परेको पुलिसले पहिलो सेटमा २५–१४ ले गुमाएको थियो। दोस्रो सेटमा खेल्दाखेल्दै नेपाल पुलिसकी उषा भण्डारी घाइते भइन् । उनी खेलमा पुनरागमन गर्न सकिनन् । उनी बाहिर परेपछि नेपाली खेलाडीको मनोबल उठन सकेन । परिणाम दोस्रो सेटमा पनि पुलिसले उस्तै कमजोर प्रदर्शन गर्यो। दोस्रो २५–१३ ले सेट सुम्पिएसँगै पुलिस खेलमा २–० ले पछि परेको थियो।
अन्तिम सेटमा पनि नेपाल झनै कमजोर देखियो। उक्त सेट २५–११ ले गुमाउँदै पुलिस उपाधि रक्षा गर्नबाट बञ्चित भयो।
माल्दिभ्सको मालेस्थित सोसल सेन्टसको इन्डोर हलमा पुलिसले घरेलु टोली हुर्रा सोसाइटी क्लबँलाई ३-० ले हराउँदै समूह बीको उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको थियो । पुलिसले हुर्रा क्लबलाई २५-१९, २६-२४ र २५-१६ ले पराजित गरेको थियो।
समूह चरणका ३ मध्ये पुलिसले २ मा जित र १ मा हार बेहोरेको थियो। पुलिस दोस्रो खेलमा इरानको फुलाद सेपाहाङ स्पोर्टस क्लबसँग २५-१४,२५-१५,२५-१८ ले हारेको थियो ।
पुलिसले पहिलो खेलमा इरानको हुमो भिसीलाई ३०-२८, २१-२५,२५-२१,२५-२३ ले हराएको थियो । पुलिस च्याम्पियनसिपको साविक विजेता हो।


















