चेन्नाई(तामिलनाडू,भारत), २७ माघ। दशौं आईसीसी टी २० पुरुष विश्वकप अन्तरगत आज सम्पन्न ११ औं खेलमा न्युजिल्याण्डले संयुक्त अरब इमिरेट्स(युएई)माथि लोभलाग्दो जित दर्ता गरेको छ ।
तामिलनाडूको एमए चिदम्बरम अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा न्युजिल्याण्डले १० विकेटले युएईलाई पराजित गरेको हो ।
टस जितेर युएईले ब्याटिड. रोजपछि पहिले फिल्डिड.मा उत्रिएको न्युजिल्याण्डले युएईलाई १ सय ७३ रनमा रोकेको थियो । १ सय ७४ रनको लक्ष्य पाएको न्युजिल्याण्डका लागि ओपनिड. ब्याटर टिम सेफर्ट र फिन एलेनको अविजित तथा विस्फोटक साझेदारी गरे । उनीहरुले कुनै विकेट नै नगुमाई कन १५.२ ओभरमै १ सय ७५ रन बनाउँदै लक्ष्य हासिल गरे।
जितसँगै न्युजिल्यान्डले समूह ‘डी’मा दुई खेलबाट ४ अंक पुर्याएको छ। पहिलो खेलमा न्युजिल्यान्डले अफगानिस्तानलाई ५ विकेटले हराएको थियो ।
युएईको भने यो नै पहिलो खेल हो।
न्युजिल्यान्डका विकेटकिपर ब्याटर सेफर्टले आक्रामक ब्याटिङ गर्दै ४२ बलमा अविजित ८९ रन बनाए। उनले १२ चौका र ३ छक्का प्रहार गरे।
अर्का ओपनर एलेनले पनि ५० बलमा अविजित ८४ रन जोडे। एलेनको इनिङ्समा ५ चौका र ५ छक्का समावेश थिए।
यो जितसंगै न्युजिल्याण्ड समूह डीबाट सुपर ८ को निकट पुगेको छ ।


















