Prakash Adhikari February 16, 2026

निरञ्जन राजवंशी
मुम्बई( महाराष्ट्र, भारत ), ४ फागुन ।वानखेडे रङ्गशालामा वेस्ट इन्डिजविरुद्धको खेलमा मैदानमा उत्रिनु सोमपाल कामीको लागि विशेष बन्यो।

त्योसँगै नेपालले खेलेको तीन वटै टी-२० विश्वकप खेल्ने एक मात्र खेलाडीको विशेष कीर्तिमान उनको नाममा रह्यो।

मैदानमा उनको प्रदर्शन पनि प्रभावशाली थियो। स्कोर बोर्डमा सोचेजस्तो रन नबनिरहेका बेला उनले फटाफट रन बढाउन थाले।

मैदानमा सङ्घर्ष गरिरहेका दीपेन्द्र सिंह ऐरीलाई उनले पूरापूर साथ दिए। यी दुईले मिलेर ५४ रनको साझेदारी गरे, जुन विश्वकपमा नेपालको तर्फबाट सातौँ विकेटका लागि सर्वाधिक रनको कीर्तिमान पनि बन्यो।

वेस्ट इन्डिजविरुद्ध हेर्न लायकको इनिङ भनेकै यी दुई मैदानमा हुँदाको क्षण रहेको धेरैले बताए।

सोमपालले १७ औँ ओभरमा जेशन होल्डरलाई तीन लगातार चौका प्रहार गरिदिँदा वानखेडेमा उपस्थित १९ हजार दर्शकले खुसी मनाएका थिए। १५ बलमा २६ रन बनाएका सोमपाल अविजित रहे।

यो प्रदर्शनपछि स्कटल्यान्डविरुद्धको खेलमा पनि सोमपाल पहिलो रोजाइमा पर्ने अनुमान गरिएको छ।

तपाईँलाई टी२० क्रिकेट खेलाडीहरूबारे कति थाहा छ? यो इन्टर्‍याक्टिभ गेम खेलेर आफ्नो ज्ञान जाँच्नुहोस्
टी२० विश्वकपमा पाकिस्तानी बलर उस्मान तारिकको शैलीले निम्त्याएको विवाद र बहस
तर यदि उनले अन्तिम खेलमा मौका पाएनन् भने वेस्ट इन्डिजविरुद्धको खेल उनको विश्वकपको अन्तिम खेल पनि हुन सक्ने छ।

के यो सोमपालको अन्तिम विश्वकप हुने छ? यही प्रश्न उनलाई पोस्ट म्याच प्रेस कन्फ्रेन्समा सोधिएको थियो।

उनले मुस्कुराउँदै जबाफ दिए, “ममा खेल्ने भोक अझै छ।”

उनको भनाइ थियो, “बाँकी मेरो फिटनेस र नेपाल क्रिकेट सङ्घको निर्णयमा निर्भर रहने छ।”

विश्वकप करिअरको मुख्य पाटो

तस्बिरको क्याप्शन,सोमपाल कामीले फिटनेशले साथ दिँदासम्म खेल्ने इच्छा प्रकट गरेका छन्।
सन् २०१४ मा नेपालले पहिलो पटक विश्वकप खेल्दा सोमपाल कामी मात्र १८ वर्षका थिए र त्यति बेला नेपाली राष्ट्रिय क्रिकेट टोलीका सबैभन्दा कान्छा सदस्य थिए।

१२ वर्षपछि मुम्बईमा नेपालले तेस्रो टी-२० विश्वकप खेलिरहँदा उनी टोलीका वयस्क सदस्य बनिसकेका छन्। टोलीमा अहिले सोमपाल भन्दा जेठो करण केसी मात्र छन्।

सोमपालको क्रिकेट करिअरको उठानमा टी-२० विश्वकपको सहभागिता नै मुख्य देखिन्छ।

सन् २०१४ मा बाङ्ग्लालादेशमा आयोजित नेपालको पहिलो विश्वकपमा प्रशिक्षक पुबुदु दशानायकेले तीव्र गतिका बलरको खोजी गरिरहँदा सोमपालमा पुबुदुको आँखा परेको थियो।

भारतमा क्रिकेट सिकेका उनी त्यति बेला नेपाली क्रिकेटमा भविष्य खोज्न आएका थिए। ३ वर्षकै उमेरमा परिवार सँग पन्जाब पुगेका उनी नेपाल फर्किँदा राम्रोसँग नेपाली बोल्न र बुझ्न सक्दैनथे।

तर विश्वकप टोलीमा समेटिँदै मुख्य बलरको भूमिका पाएका उनले बाङग्लादेशमा १४० किमिको गतिमा बल फ्याँके। त्यसअघि यति तीव्र गतिमा बल प्रहार गर्ने नेपालमा अन्य बलर थिएनन्।

त्यसपछि हो यी १८ वर्षीय ठिटो ‘गुल्मी एक्सप्रेस’ को नामले चर्चित हुन पुगेको।

सन् २०२४ को अमेरिका/वेस्ट इन्डिज विश्वकप सोमपालको लागि बिर्सिन नसकिने याद बन्न पुग्यो।

खास गरी दक्षिण अफ्रिका विरुद्धको १ रनको हारले उनलाई लामो समय झस्काएको थियो।

उक्त खेलमा गुलशन झा लाई धेरैले याद गर्ने गर्छ। तर गुलशन सँग नन स्ट्राइकमा सोमपाल थिए। मैदानमा ब्याट समाएर साक्षी बनेका उनलाई त्यो हार बिर्सिन धेरै समय लागेको उनी बताइरहन्छन्।

पन्जाबमा रहँदा ब्याटिङ गर्ने सोमपालले बिस्तारै आफ्नो भूमिका परिवर्तन गर्दै तीव्र गतिका बलरका रूपमा परिवर्तन भएका थिए।

बलिङ अलराउन्डर उनको ब्याटिङ पनि त्यति नै तिखो चल्ने गर्छ।

२०१४ मा विश्वकप खेले लगत्तै हङकङ र नेपालबीचको खेलमा उनले १० औँ नम्बरमा ब्याटिङ गर्दै सर्वाधिक ४० रनको कीर्तिमान लेखाएका छन्।

२०१४ को विश्वकप खेलेसँगै उनी राष्ट्रिय टोलीमा स्थायी सदस्य बनेका थिए।

सोमपालको शक्ति भनेकै उनको अनुशासित क्रिकेट प्रेम र इमानदार जीवनशैली मानिन्छ।

फरासिलो मिजासका उनी सहकर्मीसँग ठट्टा गरेर वातावरणलाई रमाइलो गर्न माहिर छन्।

राष्ट्रिय टोलीमा अहिले पनि लामो समय एकसाथ खेल्ने खेलाडीहरू छन्। टीमको सम्बन्ध गहिरो छ। जसको प्रभाव खेलमा पनि देख्न सकिन्छ।

तुलनात्मक रूपमा अन्य खेलाडीभन्दा तीव्र गतिका बलरहरूको खेल आयु छोटो हुने मानिन्छ। तर सोमपालको ‘लाइन र लेन्थ’ को सन्तुलन अहिले पनि कायम नै छ।

करण र सोमपाल नै अहिलेको टोलीको मुख्य स्ट्राइकर बलर हुन्। करण ३४ वर्षका भए।

नन्दन यादव अहिले नयाँ सदस्यका रूपमा टोलीमा भित्रिएका छन्। प्रतिश जीसी, रिजन ढकाल र हेमन्त धामी जस्ता खेलाडीहरू पनि तयार भएर बसेका छन्।

यद्यपि नेपाली क्रिकेटमा लामो समय सेवा दिइसकेका सोमपालको भूमिका अझै लम्बिने उनी स्वयम्लाई विश्वास छ।

के तपाई अर्को विश्वकप पनि खेल्नुहुन्छ ? भन्ने प्रश्नमा उनले त्यही जबाफ दिए, ” फिटनेसले नै सबै कुरा भन्ने छ। तर म खेलिरहन चाहन्छु। मेरो भूमिकाको आवश्यक रहेसम्म।”

उनको फिटनेस कायम रहे र नेपाल फेरि अर्को विश्वकपमा छनोट भए सोमपालको नाममा फेरि अर्को कीर्तिमान थपिन सक्छ।

Share Now