काठमाडौ, २४ भदौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ४ दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्कनुभएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले भ्रमण फलदायी रहेको बताउनुभयो।
उहाँ बिहिबार भारत जानुभएको थियो ।
भारत भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शनिवार दिउँसो भेटवार्ता भएको थियो । भेटका अवसरमा मुख्यतः पछिल्लो समयमा भएका दुई प्रधानमन्त्रीका भ्रमणहरु, बिम्स्टेक सम्मेलन, दुई देशका आपसी हित र विकास निर्माणको सम्भावना बारे छलफल केन्द्रित रहेको उनको सचिवालयले जानकारी दिएको छ ।
आपसी भेटमा नेपालमा जलविद्युतको विकास, हुलाकी मार्गको निर्माण, रेलवे निर्माण, जलमार्ग, कृषिमा आधारित उद्योग र पर्यटन क्षेत्रको विकासको बिषयमा छलफल भएको थियो ।
धार्मिक पर्यटनका लागि नेपाल र भारतमा भएका शक्तिपीठहरुको एक वृहत्तर सर्किट बनाउने बिषयमा र हिमालयको पवित्र जललाई मिनरल वाटरको रुपमा विश्वभरी लैजान सहकार्य गर्ने बारेमा पनि छलफल भएको थियो ।
भेटमा नेपाल भारत सीमामा रहेका समस्याहरुको समाधानका सम्बन्धमा पनि छलफल भयो । सीमा क्षेत्रमा भन्सारहरुको स्तरउन्नतीको बिषयमा पनि चर्चा भएको उहाँले बताउनुभएको छ ।
दुई देशको आपसी हित कसरी सुदृढ गर्ने भन्ने बिषयमा छलफल गर्दै पछिल्लो चरणमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको सन्दर्भमा भएका सकारात्मक समझदारीहरु र सहमतिहरुलाई प्रभावकारी रुपले कार्यान्वयन गर्ने बारेमा छलफल भएको थियो ।
नेकपा अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा कास्की जिल्लामा पोलिटेक्निकल इस्टिच्युट स्थापनामा भारत सरकारले सहयोग गर्ने सम्बन्धमा भएको समझदारीका बारेमा पनि कुरा उठाउनुभएको थियो ।
दुबै नेताहरुबीच झण्डै एक घण्टा भएको छलफल सकारात्मक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो । दुई देशको आपसी सम्बन्धलाई नयाँ उचाईमा उठाउने प्रतिबद्धता र संकल्पको साथ छलफल टुंगिएको प्रचण्डले सहयोगीहरुलाई बताउनुभएको छ ।
व्यक्तिगत भ्रमणमा निस्कनुभएका नेपाल कम्युनिष्ट पार्टीको संयुक्त अध्यक्ष प्रचण्डलाई भारतले भने निकै ठूलो महत्व दिएको देखिन्छ । सरकार प्रमुखलाई दिइने सम्मान गारद र राष्टपतिसंगको भेट बाहेक पूर्व प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणमा सबै खालको भेट दिलाइएको छ र प्रधानमन्त्रीको औपचारिक भ्रमणमा संबोधन गरिने मञ्चहरुमा बोल्न मौका दिइएको छ । यसलाई नेपाल,भारत र नेपालको राजनीतिमा चासो राख्ने कुटनीतिक समुदायले निकै चासोपूर्वक हेरेका छन् ।
नेकपाका संयुक्त अध्यक्ष प्रचण्डले भ्रमणका क्रममा भारतीय विदेश मन्त्री सुषमा स्वराजसँग पनि भेटवार्ता गर्नुभयो । भेटका आवसरमा कम्युनिष्ट पार्टीहरुको एकतासँग सम्बन्धित र दुई तिहाईको सरकार बनेपछि नेपाल भारत सम्बन्धमा भएका विकासका प्रयासबारे कुराकानी भएको बताइएको छ ।
पूर्व प्रधानमन्त्री प्रचण्डले भारतीय काँग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री मनमोहन सिंहसँग पनि शनिवार दिँउँसो भेटवार्ता गर्नुभयो। भेटमा मनमोहन सिंह प्रधानमन्त्री हुनुभएका बेलामा भएका समझदारी, छलफल र नेपालमा शान्ति प्रक्रियालाई अगाडि बढाउन उहाँको नेतृत्वको सरकारबाट भएको सहयोगप्रति अध्यक्ष प्रचण्डले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
भेटमा नेपालमा शान्ति प्रक्रिया र संविधान निर्माण भै सकेपछि देश विकास निर्माणतिर ध्यान केन्द्रित गरेकोप्रति नेता सिंहले खुसी व्यक्त गर्नुभयो । सरकारमा नभए पनि नेपालको विकास निर्माणमा आफूहरुको पूर्णतः सहयोग रहने उहाँले विश्वास दिलाउनु भएको थियो ।
नेकपाका संयुक्त अध्यक्ष प्रचण्डले भारतीय गृहमन्त्री राजनाथ सिंहसंग पनि भेट गर्नुभयो । उहाँले भारतको राष्टिय सुरक्षा सल्लाहकार अजित दोबलसंग पनि भेट गर्नुभएको थियो ।
यसैपनि प्रचण्डको भारतभ्रमण पछि नेपालको राजनीतिको मार्ग बदलिन्छ भन्नेहरुलाई भारतले प्रचण्डको सत्कार गरेर थप कुरा काट्ने मौका अवसर उपलब्ध गराई दिएको छ ।
उहाँले भारतको इण्डियन सेन्टर फर वल्र्ड एफेयर्स र पीएचडी चेम्बर अफ कमर्सद्धारा आयोजित कार्यक्रमलाई पनि संबोधन गर्नुभयो । यी मञ्चहरु प्रधानमन्त्रीको भ्रमणमा पनि उपयोग गरिने मञ्चहरु हुन् ।
प्रचण्डले पाएको सत्कारले प्रधानमन्त्री ओली पनि तर्सनु भएको देखिन्छ । उहाँको मन्त्रिपरिषद्का झण्डै आधा दर्जन मन्त्रीहरु कामको मेसो नपाएर प्रभावहीन बनेको र केही स्यालजस्ता धूर्तहरु प्रधानमन्त्रीलाई थाड.नामा सुताएर अर्बौको लुट मच्चाउदा पनि प्रधानमन्त्री ओलीभने बालुवाटारका सुरक्षा घेरा र सचिवालयका कर्मचारीको फूर्ति देखेर दंग हुनुहुन्छ । संघीय सरकार,प्रादेशिक सरकार र स्थानीय सरकार कुनैपनि राम्रोसंग काम नभएको बेलामा पनि कुहिएर गन्हाउन थालेका मन्त्रीहरुलाई महादेवले मरेकी सतिदेवी च्यापेजसरी काँधमा बोक्नुपर्ने खाँचो प्रधानमन्त्री ओलीलाई किन पर्यो र नालायक र भ्रष्ट मन्त्रीहरुको लागि ढाल बनेर उभिदा उहाँकै दिनगन्ती शुरु हुने राजनीतिक विश्लेषकहरु बताउछन् ।
त्यसो प्रचण्डको दिल्ली भ्रमणबाटै तर्सिएको ओली सरकार उहाँको बेइजिड.भ्रमणपछि के हविगत हुने हो भन्न सकिन्न ।























