Prakash Adhikari February 23, 2026

कीर्तिपुर(काठमाडौं), ११ फागुन । राजधानी काठमाडौंमा सञ्चालित दुई दिवसीय यजय ट्रफीको पहिलो दिन कीर्तिपुरमा सम्पन्न खेलमा पहिलो इनिङ्समा एपीएफ १ सय ८५ रन बनाउँदै अलआउट भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर नेपाल पुलिस क्लबले एपीएफलाई ब्याटिङको निम्तो दिएको थियो।

एपीएफ ६३.४ ओभरमा १ सय ८५ रनमा समेटियो। एपीएफको सुरुआत मध्यम रह्यो। आसिफ शेख १२ रनमा आउट भए। दीपक बोहोरा २८ रन बनाएर पभेलियन फर्किए। कप्तान रोहित पौडेलले आक्रामक ब्याटिङ गर्दै ४८ बलमा ४५ रन (९ चौका) जोडे पनि ठूलो इनिङ्स खेल्न सकेनन्।

सन्दीप जोरा १० रनमा आउट हुँदा एपीएफ दबाबमा परेको थियो। त्यसपछि सुमित महर्जनले १०० बलमा ५५ रन (५ चौका र ३ छक्का) बनाएर इनिङ्स सम्हाल्ने प्रयास गरे।

खेलमा भुवन कार्की ४, लोकेश बम ४, अमर राउटेला ८, अभिषेश गौतम शून्य र युवराज खत्री १६ रनमा आउट भए। इर्शाद अहमद शून्य रनमा अविजित रहे।

पुलिसका ललित राजवंशी र सागर ढकालले उत्कृष्ट बलिङ गरे। ललितले ३१.४ ओभरमा ४ विकेट लिए भने सागरले २६ ओभरमा ४ विकेट झारे। कुशल भुर्तेलले २ विकेट लिए।

आर्मीले बनायो १ सय ९१ रनको योगफल, अझै ३० ओभर ब्याटिड. बाँकी

जय ट्रफी दुईदिवसीय क्रिकेट अन्तरगत सोमबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा भीम सार्की र सन्तोष कार्कीले शतकीय साझेदारी गरेपछि आर्मीले १ सय ९१ रनको स्कोर बनाएको छ।

पहिलो दिनको खेलमा आर्मीले ३ विकेट गुमाएर १ सय ९१ रन बनायो । खेलमा प्रतिस्पर्धी बागमती प्रदेशले ७ विकेट गुमाएर २ सय ५९ रन बनाएको थियो।

बागमतीले पहिलो इनिङ्स पूरा ७० ओभर ब्याटिङ गरेर ७ विकेट गुमाई २ सय ५९ रन बनाई इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।

भीम र सन्तोषले तेस्रो विकेटमा १ सय १४ रनको साझेदारी गरेपछि आर्मी पहिलो इनिङ्सका आधारमा बागमतीभन्दा ६८ रनले मात्र पछाडि छ । टोलीले अझै ३० ओभर ब्याटिङ गर्न बाँकी छ ।

अघिल्लो खेलमा शतक बनाएका भीमले ७४ रनको इनिङ्स खेले । दिनको खेल सकिन ३ ओभरअघि देव्रेहाते सिमर रिजन ढकालको लेग साइडमा गएको बललाई फ्लिक गर्न खोज्दा विकेटकिपरलाई क्याच दिन पुगेका भीमले ८३ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे । सन्तोष ७९ बलमा ७ चौकासहित ४३ रनमा अविजित छन् । उनलाई बसिर अहमदले ५ रन बनाई साथ दिइरहेका छन् ।

Share Now