महोत्तरी, १२ फागुन : मिथिला मध्यमा परिक्रमाका यात्रीले महोत्तरी जिल्लाको यात्रा पूरा गरेका छन् । जिल्लाको भङ्गाहा–९ कञ्चनवनमा आठौँ दिनको रात्रिबास गरेका यात्री आज नवौँ दिन धनुषातिर प्रस्थान गरेका छन् । कञ्चनवन यस यात्रामा होली महोत्सवका लागि प्रसिद्ध छ ।
कञ्चनवन यो यात्राको आठौँ रात्रिबास हो भने महोत्तरीको पाँचौँ हो । यसअघि यात्राको चौथो दिन महोत्तरी प्रवेश गरेका यात्रीले जिल्लाका मटिहानी, जलेश्वर, मडै र ध्रुवकुण्डमा रात्रिबास गरिसकेका छन् । जनकपुरधामलाई केन्द्र बनाएर जम्मा १३३ किलोमिटरको बृत्तमा गरिने १५ दिने यो परिक्रमामा धनुषामा छ र मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा चार रात्रिबासको परम्परा छ ।
फागुन औँसीका दिन धनुषाको मिथिलाविहारी नगरपालिकाको ठेराकचुरीस्थित मिथिलाविहारी मन्दिरबाट सुरु भएको यो यात्रा मिथिलाविहारी (श्रीराम) र किशोरीजी (सीताजी)का प्रतिमा राखिएका डोला (डोली)साथ लगाई नाङ्गा खुट्टाले गरिन्छ । आज कञ्चनवनबाट धनुषा प्रस्थान गरेका यात्री रात्रिबास पर्वतामा गर्नेछन् । यसरी १०औँ दिन धनुषाधाम, ११औँ दिन सतोखरधाम, १२औँ दिन औरही र अन्तिम १५औँ दिनको रात्रिबास जनकपुरधामको रङ्गशाला मैदान हुनेछ । त्यसैगरी, यसअघि पहिलो दिनको रात्रिबास यात्रीले धनुषाकै हनुमानगढीमा गरिसकेका छन् ।
यस यात्रामा मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा कल्याणेश्वर (कलना), गिरिजास्थान (फुलहर), करुणा र बिसौल क्रमशः दोस्रो, तेस्रो, १३औँ र १४औँ दिनका रात्रि विश्रामस्थल रहँदै आएको परम्परा छ । यस यात्रामा महोत्तरी र धनुषासमेत १०७ र भारततर्फ २६ किलोमिटरको दूरी छिचोलिन्छ ।
अघि त्रेतायुगमा मर्यादा पुरुषोत्तम श्रीराम र देवी सीता विवाहपछि तत्कालीन मिथिला राज्यका विभिन्न ठाउँमा वनविहार गर्दै भ्रमण गर्नुभएको विश्वासमा उहाँहरूकै पदचाप पछ्याउन यो यात्रा परम्परा बसालिएको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णव बताउनुहुन्छ । मानव कल्याण र मोक्षको कामनासाथ यो यात्रा गरिने उहाँको भनाइ छ ।
कञ्चनवन पुगेर होली खेलियो
मिथिलाको महाकुम्भ मिथिला माध्यमिक परिक्रमाअन्तर्गत सोमबार श्रद्धालु महोत्तरीको कञ्चनवन पुगेर रङ–अबिर साटासाट गर्दै हर्षोल्लासका साथ होली मनाएका छन् ।
कञ्चन वन पुगेर परिक्रमामा सहभागी श्रद्धालु तथा साधुसन्तले प्रत्येक वर्ष होली खेल्ने गर्छन् । सोही परम्पराअनुसार यस वर्ष पनि परिक्रमा विश्रामका क्रममा होली खेलेका हुन् । मिथिला विहारीको डोलासहित कञ्चनवन पुगेका श्रद्धालुहरूले एकअर्कालाई रङ अबिर दल्दै उल्लासपूर्वक होली पर्व मनाएका हुन् । मिथिलामा कञ्चन वनमा होली खेलेसँग होलीको सुरुआत भएको छ ।
ध्रुवकुण्डबाट प्रस्थान गरेको परिक्रमा सोमबार महोत्तरीको भङ्गाहा नगरपालिका–९ हरिनमरीस्थित कञ्चनवन पुगेर होली मनाएका छन् । कञ्चनवन प्रवेश गर्ने परिक्रमा यात्रीलाई भङ्गाहा नगरपालिकाले भव्य स्वागत गरिएको थियो । नगरप्रमुख सञ्जिव साहले परिक्रमामा सहभागी भएकालाई स्वागतका लागि ठाउँठाउँमा प्रवेशद्वार, पण्डाल, आवासको व्यवस्था गरिएको र पुवा, खीर, सर्वत, अबिर, फूलमालाको व्यवस्थासहित होली मिलन समारोह र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
स्थानीय मठमन्दिरका महन्थ, विभिन्न सामाजिक तथा सांस्कृतिक अभियन्ताका साथै राजनीतिक क्षेत्रसँग आबद्ध व्यक्तिहरूको उल्लेख्य सहभागिताले कञ्चनवनको होलीलाई विशेष बनाउने गरिएको उहाँले उल्लेख गर्नुभयो ।
धार्मिक आस्था र सांस्कृतिक एकताको प्रतीकका रूपमा यहाँको होली वर्षेनि थप व्यवस्थित हुँदै गएको स्थानीय बताउँछन् । यस वर्ष यस अवसरमा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णाप्रसाद यादवलेसमेत सहभागिता जनाउनुभएको थियो ।
कञ्चनवनमा त्रेतायुगमा भगवान् राम र सीताले रङ अबिर खोलेर होली मनाएको धार्मिक विश्वास रहिआएको नगरप्रमुख साहले जानकारी दिनुभयो । उहाँका अनुसार धनुषाको कचुरीस्थित मिथिला विहारी मन्दिरबाट सुरु भएको परिक्रमा आठौँ दिन कञ्चनवन पुगेर होली खेल्ने र रात्रि विश्राम गर्ने परम्परा छ ।
यही फागुन ४ गतेदेखि सुरु भएको मिथिलाञ्चलका महाकुम्भ मानिने सांस्कृतिक उत्सव तथा संसारकै लामो धार्मिक पदयात्राका रूपमा रहेको मिथिला माध्यमिकी परिक्रमा यसअघि हनुमानगढीबाट कल्याणेश्वर, भारतको गिरिजास्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडई हुँदै ध्रुवकुण्ड पुगेका थिए ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माताजानकी र मिथिला विहारी नगरपालिकाको कचुरी मठबाट मिथिला विहारी भगवान् रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा धार्मिक झाँकी भजन, कीर्तनसहित परिक्रमाको डोलासहित जनकपुरधामबाट सुरु भएको मिथिला परिक्रमा विधिवत् रूपमा १५ दिने यात्रा तय गरिरहेका नगरप्रमुख साहले जानकारी दिनुभयो ।
कञ्चनवनपश्चात् पर्वता, धनुषाधाम, औरही, विशौल, कल्याणेश्र र फागु पूर्णिमाको जनकपुर फर्कनेछ । मिथिला विहारीको नेतृत्वमा पारम्पारिक रुपले आयोजना हुँदै आएको यो परिक्रमामा हजारौँ सहभागिता रहने गरेको छ ।
नेपाल–भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्रामा नेपालको धनुषा र महोत्तरीको १३ तथा भारतको दुई गरी १५ विश्रामस्थलमा जाने गरेका छन् ।
परिक्रमामा सहभागी हुनाले मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने तथा मोक्षप्राप्ति हुने धार्मिक मान्यता छ ।


















