Prakash Adhikari February 23, 2026

 

काठमाडौं, १२ फागुन । नेपाली फुटबलको राष्ट्रिय महिला टिमकी कप्तान साबित्रा भण्डारी साम्बाले आफ्नो गोडाको उपचारको लागि आर्थिक सहयोग गरिदिन सर्वसाधरणमा अपिल गर्नुभएको छ ।

वेलिडटन फोनिक्सका लागि खेल्दाखेल्दै मैदानमा घाइते हुनुभएकी साम्बाको उपचार उहाँ खेलेको क्लबले न्युजिल्याण्डको स्थानिय अस्पतालमा गराउन खोजेको छ । तर उपचारपछि पनि मैदानमा फर्केर आउने सपना बोक्नुभएकी साम्बाले आफ्नो उपचार कतारमा गराउन चाहनुभएको छ । कतारमा पहिले पनि उपचार भएको र सोको लागि ८० हजार डलर जति खर्च लाग्ने तर क्लब र नेपालको अखिल नेपाल फुटबल संघले दिने सहयोग अपर्याप्त रहेकोले उहाँले थप आर्थिक सहयोगको लागि फुटबलप्रेमी नेपालीहरुमा अपिल गर्नुभएको छ ।

नेपाली राष्ट्रिय टिमकी कप्तानले सर्वसाधरणमा सहयोगको अपिल गरेपछि नेपाली कांग्रेसका नेता तथा व्यवसायी सुनिल शर्माले नेपालमा उपचार गराउने भएर काठमाडौं मेडिकल कलेजले निःशुल्क उपचार गराईदिने बचन दिनुभएको छ ।

यस्तो छ, नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान साम्बाले गर्नुभएको अपीलः


नमस्कार, म सावित्रा भण्डारी, तपाईंहरुको ‘साम्बा”
यहाँहरु सबैलाई थाहा नै छ म पछिल्लो ७ हप्तादेखि चोटका कारण मैदानबाहिर छु । सोचेजस्तो हुन्थ्यो भने अहिले म चोटको शल्यक्रिया गरेर फिजियो सुरु गरेको केहि समय बितिसक्ने थियो । तर अझैपनि म उपचारको लागि भौतारिएको छु ।

मेरो घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ । यसका लागि मैले पुनस् जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ । पछिल्लोपटक एन्फा नेतृत्वको पहलमा मेरो उपचारमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो । त्यसबेला आर्थिक र मानसिक रुपमा मलाई कुनै समस्या थिएन, जसकारण मैले समयमा पुनरागमन गर्दै मैदान फर्कन सकें ।

तर यसपटक एन्फा नेतृत्वबाट वाचा गरेको सहयोग पनि पाइएन । चोट लागेको ३ सातापछिको लागि क्लबको पहलमा शल्यक्रिया मिति तोकिएको भएपनि एन्फाले आफ्नो तर्फबाट प्रयास गर्ने बतायो । तर सो अनुसार एन्फाबाट प्रक्रिया अघि बढेन । मैले पटक पटक प्रयास गर्दापनि वहाँहरुलाई सम्पर्क गर्न कठिन भयो । अघिल्लो साता एन्फा अध्यक्ष आफैंले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । वहाँले नगद ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैं गर्न भन्नुभयो । एक त मैले यसअघि चालेको प्रक्रिया रोकियो, अर्कोतर्फ मैले झन्डै २ महिनापछि मात्र शल्यक्रिया मितिको लागि फेरी प्रयास गर्नुपर्ने भएको छ ।

यसबीचमा क्लबले मलाई न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गर्न तयार रहेको बताइरहेको छ । तर मेरो चोट गम्भीर रहेको र पछिल्लो पटक कतारको अस्पेटारमा गरिएको उपचार उच्च स्तरको रहेकाले मैले पुनस् सोहि अस्पतालमा उपचार गराउने इच्छा राखेको हुँ । क्लबले विमाबाट प्राप्त रकम मेरो लागि निकासा गरिदिने भएको छ । तर उक्त रकम मेरो शल्यक्रिया र ७(८ महिना रिह्याबका लागि अपुग हुने भएकाले आम समर्थकमाझ सहयोग माग्न आइपुगेको छु । यसका लागि कुल ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक आँकलन रहेको छ ।

म बाहिर रहेकाले सरकारसमक्ष पनि मेरो प्रतिनिधित्व गर्दै उपचारका लागि सहयोगको प्रयास भएका छन् । तर सरकारी प्रक्रिया अपेक्षा गरेअनुसार अघि बढ्न नसक्दा मैले शल्यक्रिया नगरी भर गर्ने स्थिति रहेको छैन ।

मैले आफ्नो करियरमा सधैं कठिनाइहरूको सामना गर्नुपरेको छ, र हरेक पटक साहसका साथ त्यसलाई पार गरेको छु । यसपटक पुनस् माथि उठ्न तपाईंको सहयोगको आवश्यकता परेको छ ।

मेरो लागि यो आफ्नो करियरको सबैभन्दा कठिन लडाइँ भएको छ । मैले यो अवस्था आउला भन्ने सोचेको पनि थिइनँ । आफ्नो अभिभावक मानेको एन्फाले पनि पछि हटेपछि मेरो साथ दिन आम समर्थकहरु नै हुनुहुन्छ । एन्फाभित्र म क्लबको लागि खेल्दा चोट लागेको भन्ने तर्क सुन्दा म आफैं निराश भएको छु । तर मैले देशको लागि सधैं शत प्रतिशत दिएको छु र आउने दिनमा पनि देशको लागि खेल्न तत्पर छु । इजरायल होस् या फ्रान्स, मैले सधैं नेपालकै नाम राखेको महसुस भएको छ । यहाँ न्युजिल्यान्ड र अष्ट्रेलियामा खेल्दापनि मैले व्यक्तिगत भन्दापनि राष्ट्रको पहिचान बोकेको ठानेको छु ।

आर्थिक रुपमा मैले आजसम्म आर्जन नगरेको रकम यो उपचारका लागि आवश्यक परेको छ । त्यसैले नै म आज यहाँहरुमाझ सहयोगको याचना गरिरहेको छु । आशा छ मेरो उपचारका लागि आवश्यक सहयोग चाडैं जम्मा हुनेछ । र म राष्ट्रिय टोलीको कप्तान, जो युरोपमा पुगेर खेलेको छु, मैले यो परिस्थितिको सामना गर्नुपर्छ भने सोच्नुहोस अरुको अवस्था के होलारु मैले यसबारे निरन्तर आवाज पनि उठाउँदै आएको छु, तर नियतिले पुनस् एकपटक मलाई नै यो अवस्थामा ल्याएको छ ।

मलाई सहयोग गर्न नेपालमा रहनुहुनेले तल राखिएको त्तच् वा बैंक मार्फत सहयोग गर्नुहोला ।
विदेशमा रहनुहुनेले यो लिंकमा गएर सहयोग गर्नुहोला :

https://givealittle.co.nz/…/support-sambas-surgery…

यो चोटले मलाई शारीरिक र मानसिक रुपमा थकाएको छ, तर मलाई विश्वास छ म फर्कनेछु ।
थाकेको हो, हारेको छैन ।

पुनस् एकपटक नेपालको जर्सी लगाएर मैदान फर्कनेछु ।
जय नेपाल !


 

Share Now