Prakash Adhikari February 25, 2026

 

कोलम्बो(श्रीलंका), १३ फागुन। घरेलु मैदानमा न्यूजिल्यान्डसँग पराजित हुँदै श्रीलंका टी–२० विश्वकपको सुपर एट चरणबाट बाहिरिएको छ। लगातार दोस्रो हारसँगै श्रीलंकाको अघिल्लो चरण पुग्ने सम्भावना समाप्त भएको हो।

न्यूजिल्यान्डले ६१ रनको जित दर्ता गर्दै सुपर एट चरणबाट श्रीलंकालाई बाहिर पठाएको हो। १ सय ६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाको सुरुआत अत्यन्तै खराब रह्यो। इनिङ्सको पहिलो बलमै पाथुम निसांका म्याट हेनरीको बलमा बोल्ड आउट भए। तेस्रो ओभरको पहिलो बलमा चरिथ असलंकालाई पनि हेनरीले आउट गरे, त्यसबेला श्रीलंकाको स्कोर मात्र ६ रन थियो।

कुशल मेन्डिस र पवन रथनायकेले पारी सम्हाल्ने प्रयास गरे पनि सफल हुन सकेनन्। रचिन रविन्द्रको बलमा अगाडि बढ्दा मेन्डिस स्टम्प आउट भए। त्यसपछि अर्को बलमै रथनायके पनि आउट भए। टोलीको स्कोर २९ रन पुगेको थियो।

कप्तान दासुन शनाकाले पनि लामो समय टिक्न सकेनन्। ५ बलमा ३ रन बनाएर उनी रचिनकै बलमा फिन एलेनको हातमा क्याच दिएर फर्किए। टोलीको ५९ रन हुँदा दुनिथ हेमन्थालाई पनि रचिनले आउट गरे।

एक छेउ सम्हालेर संघर्ष गरिरहेका कामिन्दु मेन्डिसले २३ बलमा ३१ रन बनाए पनि उनलाई मिचेल स्यान्टनरले आउट गरे।

अन्ततः श्रीलंका १०७ रनमै अलआउट भयो। कोलम्बोस्थित आर। प्रेमदासा रंगशालामा टस जितेर श्रीलंकाले न्यूजिल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। टिम सिफर्ट र फिन एलेनले न्यूजिल्यान्डलाई राम्रो सुरुआत दिलाएका थिए।

तर टोलीको ८४ रन पुग्दा ६ विकेट गुमाएपछि न्यूजिल्यान्ड दबाबमा परेको थियो। त्यसपछि कोल म्याककन्ची र मिचेल स्यान्टनरले ४७ बलमा ८४ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए। निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै न्यूजिल्यान्डले १ सय ६८ रन बनायो।

इंग्ल्याण्ड पहिल्यै सेमिफाइनलमा‌

यस अघि नै यो समूहबाट इंग्ल्याण्ड सेमिफाइनल पुगिसकेको थियो । कप्तान ह्यारी ब्रुक को शतकको मद्दतमा विजयी भएको इंग्ल्याण्ड आइसिसी टि ट्वान्टी विश्वकप २०२६ को सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो।

सुपर एटमा पाकिस्तानलाई २ विकेटले हराउँदै इंग्ल्याण्डले अन्तिम चारमा स्थान बनाएको हो। सुपर एटमा इंग्ल्याण्डको यो लगातार दोस्रो जित हो।

पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्दै पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रन बनायो।

पाकिस्तानका लागि साहिबजादा फरहानले सर्वाधिक ६३ रन बनाए। बाबर आजम‌ र फकर जमानले समान २५ रन र शादाब खानले २३ रन जोडे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

इंग्ल्याण्डका लियाम डसनले ३, जेमी ओभरटन र जोफ्रा आर्चरले समान २ र आदिल रसिदले १ विकेट लिए।

१ सय ६५ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डको सुरुवात खराब रह्यो। शाहिन शाह अफ्रिदी ले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएर इंग्ल्याण्डलाई दबाबमा राखेका थिए।

तर कप्तान ब्रुकले एक्लैले टोलीलाई जिततर्फ लगे। उनले आक्रामक ब्याटिङ गर्दै ५१ बलमा १० चौका र ४ छक्कासहित १ सय रन बनाए । टि ट्वान्टी विश्वकप इतिहासमा कप्तानका रूपमा शतक बनाउने ब्रुक पहिलो खेलाडी बने।

विल ज्याक्सले २८ र साम करनले १६ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

इंग्ल्याण्डले १९.१ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। पाकिस्तानका मोहम्मद नवाज र उसमान तारिकले समान २ विकेट लिए।

यो जितसँगै समूह २ बाट इंग्ल्याण्ड सेमिफाइनल पुगेको छ यो समूहमा न्युजिल्याण्ड र सहआयोजक श्रीलंका पनि छन्।

 

Share Now