Prakash Adhikari February 26, 2026

एजेन्सी – साविक विजेता भारतले टि‌ ट्वान्टी विश्वकपको सेमिफाइनल पुग्ने आशा कायम राख्ने क्रममा बिहिवारको खेलमा जिम्बावेलाई ७२ रनले हराएको छ।

चेन्नईमा भएको खेलमा भारतको जितपछि जिम्बावे प्रतियोगिताबाट बाहिरिएको छ । टस जितेर जिम्बाब्वेले‌ फिल्डिङ रोज्यो।

पहिले ब्याटिङ गरेको भारतले ४ विकेट गुमाएर २ सय ५६ रनको विशाल योगफल बनायो। यो टि ट्वान्टी विश्वकप इतिहासकै दोस्रो ठूलो स्कोर हो।

भारतका लागि अभिषेक शर्माले ३० बलमा ५५ रन बनाए। उनले समान ४ चौका र छक्का प्रहार गरे। हार्दिक पाण्ड्या ले २३ बलमा नटआउट अर्धशतक बनाए ।

तिलक वर्माले १६ बलमा नटआउट ४४ रन जोडे। सन्जु सामासनले २४, इशान किसनले ३८ र कप्तान सूर्यकुमार यादवले ३३ रन बनाए ।

२ सय ५७ रनको लक्ष्य पछ्याएको जिम्बावे ६ विकेटको क्षतिमा १ सय ८४ रन बनाउन सक्यो। टोलीका लागि ब्रायन बेनेटले उत्कृष्ट प्रदर्शन गर्दै ५९ बलमा नटआउट ९७ रन बनाए। उनले ८ चौका र ६ छक्का प्रहार गरे।

सिकन्दर राजाले ३१ रन बनाए। तर अन्य ब्याटरले राम्रो साथ दिन सकेनन्। भारतका अर्शदीप सिंहले ३ विकेट लिए।

यो जितसँगै भारतले सेमिफाइनल पुग्ने सम्भावना जीवित राखेको छ। अब भारतले कोलकातामा हुने खेलमा वेस्ट इन्डिजलाई हराए अन्तिम चारमा स्थान बनाउनेछ।

 दक्षिण अफ्रिकाको जित

कप्तान एडेन मार्करामले ४६ बलमा नटआउट ८२ रन बनाएपछि दक्षिण अफ्रिकाले टि ट्वान्टी विश्वकपको सुपर एटमा वेस्ट इन्डिजलाई ९ विकेटले हराएको छ ।

जारी विश्वकपमा अपराजित दक्षिण अफ्रिकाको सुपर एटमा यो दोस्रो जित हो । समूह १ को पहिलो खेलमा भारतलाई हराएको दक्षिण अफ्रिकाले सेमिफाइनल सम्भावनालाई बलियो बनाएको छ।

दक्षिण अफ्रिकाका मार्करामले ७ चौका र ४ छक्का प्रहार गरे। दक्षिण अफ्रिकाले १ सय ७७ रनको लक्ष्य २३ बल बाँकी रहँदै १ विकेट गुमाउँदै पूरा गर्‍यो।

३१ वर्षीय मार्करामले २७ बलमा अर्धशतक पूरा गरेका थिए। उनले क्विन्टन डि कक सँग पहिलो विकेटका लागि ९५ रनको साझेदारी गरे। डि ककले २४ बलमा ४७ रन बनाएर आउट भए।

त्यसपछि रायन रिकेल्टन ले २८ बलमा नटआउट ४५ रन थप्दै टोलीलाई जित दिलाए। मार्करामले आफ्नो ११औं बाउन्ड्री प्रहार गर्दै दक्षिण अफ्रिकालाई प्रतियोगिताको पाँचौं जित दिलाए।

त्यसअघि बलिङतर्फ दक्षिण अफ्रिकाले उत्कृष्ट सुरुआत गरेको थियो। वेस्ट इन्डिजले ८ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो।

पावरप्लेमा ४ विकेट लिएको दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ८३–७ को अवस्थामा पुर्‍याएको थियो।

तर त्यसपछि रोमारियो शेफर्ड र जेसन होल्डर ले उत्कृष्ट साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याए। उनीहरूले आठौं विकेटका लागि ८९ रनको साझेदारी गरे।

शेफर्डले नटआउट ५२ रन बनाए । होल्डरले ४९ रन बनाएर अन्तिम बलअघि रनआउट भए। अन्तिम ५ ओभरमा मात्र उनीहरूले ५८ रन जोडे।

वेस्ट इन्डिजले सुरुआत राम्रो गरे पनि २९–० को अवस्थाबाट ४३–४ मा झरेको थियो। दक्षिण अफ्रिकाका कागिसो रबाडा र लुंगी एनगिडी ले समान २ विकेट लिए।

Share Now