Prakash Adhikari March 5, 2026

मुम्बई(महाराष्ट्र,भारत), २१ फागुनः ट्वान्टी २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत आज भएको सेमिफाइनल खेलमा भारतले इङ्ल्यान्डलाई ७ रनले पराजित गरेको छ ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले दिएको २ सय ५४ रनको लक्ष्य इंग्ल्याण्डले पूरा गर्न सकेन । उसले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ४६ रन मात्र जोड्न सक्यो ।

खेलमा इंग्ल्याण्डका ज्याकब बेथेलले शतकीय पारी खेले । इंग्ल्याण्डलाई अन्तिम १८ बलमा ४५ रन आवश्यक हुँदा १७औं ओभरमा जसप्रित बुमराहले ६ रन मात्र दिए । १९औं ओभरमा हार्दिक पान्ड्याले साम करानलाई आउट गर्दै ९ रन मात्र दिएपछि इंग्ल्यान्डलाई ६ बलमा ३० रन आवश्यक थियो ।

शिवम दुबेको अन्तिम ओभरको पहिलो बलमा २ रन लिने क्रममा बेथेल रनआउट भएपछि आएका जोफ्रा आर्चरले ३ छक्का प्रहार गरे तर त्यो जितका लागि पर्याप्त भएन ।

बेथेलले ४८ बलमा ८ चौका र ७ छक्कासहित १०५ रनको शानदार इनिङ खेले । सुरुवातदेखि विकेट गुमाएर दबाबमा देखिएको इंग्ल्यान्डका लागि उनले जितको सम्भावना देखाएका थिए ।

बेथेलले विल ज्याक्ससँग मिलेर पाँचौं विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए । ज्याक्सले २० बलमा ३५ रन बनाए । जस बट्लरले २७ रन बनाए ।

भारतका लागि अर्शदीप सिंह, जसप्रित बुमराह, वरुण चक्रवर्ती, अक्षर पटेल, हार्दिक पान्ड्या र शिवम दुबेले एक(एक विकेट प्राप्त गरे ।‘

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर २ सय ५३ रनको विशाल योगफल खडा गरेको थियो । भारतका लागि सन्जु सामसनले ४२ बलमा ८ चौका र ७ छक्कासहित ८९ रन बनाए । शिवम दुबेले २५ बलमा ४३ रन, इशान किशनले १८ बलमा ३९ रन, हार्दिक पान्ड्याले २७ तथा तिलक वर्माले २१ रन बनाए ।खेलमा सूर्यकुमार यादवले ११,अभिशेक शर्माले ९,अक्षर पटेलले २ र वरुण चक्रवर्ती शून्य रनमा नटआउट रहे ।

भारतलाई रोक्ने क्रममा इङ्ल्यान्डको लागि विल ज्याक्स र आदिल राशिदले समान दुई÷दुई विकेट लिए भने जोफ्रा आर्चरले एक विकेट लिए ।

अब भारतले उपाधिका लागि फाइनलमा आइतवार न्युजिल्याण्डसंग खेल्ने छ । टी २० विश्वकप २०२६ को फाइनल खेल भारतको गुजरातको राजधानी अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने भएको छ ।

Share Now