Prakash Adhikari March 8, 2026

काठमाडौँ, २५ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली(प्रत्यक्ष)तर्फ हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक भएको छ ।

निर्वाचन आयोगबाट आज विहान ६ बजे प्राप्त तथ्याङक अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२४ निर्वाचन क्षेत्रमा विजयी भएकोे छ । जारी मतगणनामा रास्वपा एक निर्वाचन क्षेत्रमा अग्रस्थानमा छ ।

नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने १ स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले) ले ८ स्थान विजयी भएको छ भने १ स्थानमा अगाडि रहेको छ ।

नेपाली कम्युनिष्ट पार्टी सात, श्रम संस्कृति पार्टी तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् ।

धनुषा १ मा मतगणना स्थगित गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारको उम्मेदवारी रद्द भएको विषयलाई लिएर उत्पन्न विवाद र अन्य प्राविधिक कारणले गर्दा मतगणना प्रक्रिया अघि बढ्न नसकेको हो ।

निर्वाचन अधिकृत मनोज बरालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘मतगणना सम्बन्धमा स्पष्ट निर्देशन पाउँ भनी श्री निर्वाचन आयोग नेपाललाई च.नं. १९८ मिति २०८२/११/२२ को पत्रद्वारा पत्राचार भइसकेको छ। तर निर्वाचन आयोगबाट अहिलेसम्म निर्देशन प्राप्त भइनसकेकाले आयोगबाट निर्देशन प्राप्त भएपश्चात मात्र मतगणना कार्य प्रारम्भ गरिनेछ ।’

मतगणना कहिलेबाट सुरु हुने भन्नेबारे आयोगको जवाफ आएपछि अर्को सूचनामार्फत जानकारी दिइने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यहाँबाट रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी रद्द भएको थियो ।

 

Share Now