ललितपुर, २८ फागुन । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा स्विट्जरल्यान्डका गुग्लिएल्मो एरेना नियुक्त भएका छन्।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० कम्प्लेक्समा एन्फा महासचिव किरण राईले एरेनालाई नियुक्ति पत्र हस्तान्तरण गरे ।
एरेनाको पहिलो जिम्मेवारी चैत १३ गते (मार्च २६) हुने अन्तर्राष्ट्रिय खेल हुनेछ। नेपालले दशरथ रंगशालामा हङकङ (चीन) सँग मैत्रीपूर्ण खेल खेल्नेछ।
एरेनाले यसअघि विभिन्न देशका क्लब टोलीहरू सम्हालेका छन्। सन् २०११ मा उनले सिंगापुरको क्लब एतोइल एफसीको प्रशिक्षकका रूपमा काम गरेका थिए। त्यसपछि २०१२ मा अल्जेरियाको क्लब सिआर बेलौइजदादको प्रशिक्षक बनेका थिए।
त्यसैगरी २०१८ मा जाम्बियाको बिल्डकन एफसीको प्रशिक्षक बनेका एरेनाले त्यसपछि स्विट्जरल्याण्डको एफसी कोन्ते पनि सम्हालेका थिए। सन् २०२० मा उनले मोरक्कोको क्लब आरसी ओउएद जेमको प्रशिक्षकका रूपमा काम गरेका थिए।
पछिल्लो पटक २०२३ मा उनले लाओसको यु २३ को कार्यवाहक प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए।


















