Prakash Adhikari March 19, 2026
  • फणीन्द्र दाहाल
    बीबीसी न्यूज नेपाली

काठमाडौं, ४ चैत्र । मध्यपूर्वमा जारी युद्धका माझ लेबननमा तैनाथ नेपाली शान्ति सैनिकहरूलाई सुरक्षा सतर्कता अपनाउन निर्देशन दिइएको र उनीहरूलाई अत्यावश्यक कामबाहेक शिविरबाहिर निस्कनबाट रोक लगाइएको अधिकारीहरूले बताएका छन्।

केही दिनपहिले नेपाली बटालिअन बस्ने गरेको दक्षिण लेबनानस्थित एउटा शिविरभित्र गोलाबारी भएको थियो र त्यहाँ इजरायलले प्रहार गरेको विस्फोटक सामग्री खसेको ठानिएको छ।

संयुक्त राष्ट्रसङ्घको लेबनानस्थित शान्ति मिशन (यूनिफिल)का एक सूचना अधिकारीले उक्त हमलाको अनुसन्धान चलिरहेको भन्दै पछिल्लो पटक तनाव सुरु भएयता अवस्था तरल रहेको बताउनुभयो ।

इजरायलले शान्ति सैनिक र तिनका संरचनामाथि आक्रमण नगर्ने आफ्नो नीति रहेको बताएको र करिब दुई साताअघि घानाका शान्ति सैनिक शिविरमा भएका गोलाबारीलाई लिएर माफी मागेको विवरण आएको छ।

नेपाली शान्ति सैनिकहरू कस्तो अवस्थामा छन्?

नेपाली सेनाको वेबसाइटमा राखिएको विवरणअनुसार यूनिफिलमा गएको मार्च ११ सम्म ५ सय ५४ जना नेपाली सैनिक खटिएका छन् र त्यसमध्ये ५ सय ३२ जना रहेको बटालिअन दक्षिण लेबनानमा खटिएको छ।

गएको शुक्रवार मेस अल जाबेलमा अवस्थित नेपाली शान्ति सैनिक शिविरमा इजरायलले प्रहार गरेका विस्फोटक पदार्थ खसेको विवरण आएको छ। सो आक्रमणको पुष्टि गरेको संयुक्त राष्ट्रसङ्घले त्यहाँको गोलाबारीमा संलग्न पक्षबारे भने अनुसन्धान गरिरहेको उल्लेख गरेको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले शुक्रवार साँझको उक्त घटनापछि अहिले अवस्था सामान्य रहेको बताउनुभएको छ ।

उहाँ भन्नुहुन्छ, “तत्कालीन समयमा हाम्रा फौजहरू बङ्करमा रहेका थिए। कोही पनि घाइते भएका छैनन्। हाम्रो शान्ति सैनिकका केही प्राविधिक सामानहरूमा नोक्सान भएको छ, अरू केही भएको छैन।”

उहाँले परिस्थिति हेरेर मिशन मुख्यालयले निर्देशनहरू दिइरहेको र त्यहीअनुसार नेपाली शान्ति सैनिकहरूले सुरक्षा सतर्कता अपनाइरहेको बताउनुभयो।

उहाँ भन्नुहुन्छ, “त्यहीअनुसार नेपाली सेनाले पनि त्यहाँ भएका सम्पूर्ण शान्ति सैनिकहरूलाई सुरक्षित रहनका लागि निर्देशित गरिसकेको छ। नेपाल सरकार, नेपाली सेना र संयुक्त राष्ट्रसङ्घले पनि यो विषयमा आफ्ना विभिन्न रणनीतिक योजनाहरू तयार पारेको छ। मिशन हेडक्वार्टर्सले परिस्थितिअनुसारको निर्णय गर्छ र त्यहीअनुसार नै हामी अघि बढ्छौँ।”

यसअघि इजरायली डिफेन्स फोर्सेसले आफ्नो ट्याङ्कले गएको मार्च ६ मा त्रुटिपूर्ण ढङ्गले गोलाबारी गर्दा घानाका शान्ति सैनिक घाइते भएको बुधवार स्वीकार गरेको रोयटर्स समाचारसंस्थाले जनाएको छ।

दक्षिण लेबननमा इरानको समर्थनप्राप्त हिज्बुल्लाह लडाकु र इजरायली फौजहरूबीच द्वन्द्व भइरहने ब्लू लाइन क्षेत्रको अनुगमनका लागि यूनिफिल तैनाथ रहेको छ। यूनिफिलअन्तर्गत ४८ देशका ७ हजार ५ सय भन्दाबढी शान्ति सैनिक लेबननमा तैनाथ रहेको राष्ट्रसङ्घले जनाएको छ।

गएको मार्च ६ मा भएको भीषण गोलाबारीमा कम्तीमा आफ्ना तीन सैनिक घाइते भएको घानाको सेनाले जनाएको छ।

इजरायली डिफेन्स फोर्सेजले उक्त घटनाप्रति पश्चात्ताप गरेको भन्दै त्यसलाई लिएर उपयुक्त माध्यमबाट राष्ट्रसङ्घ र घानासँग माफी मागेको रोएटर्सले जनाएको छ। राष्ट्रसङ्घीय निकाय यूनिफिलले इजरेल डिफेन्स फोर्सको पत्र मंगलवार प्राप्त गरेको थियो जसमा शान्ति सैनिकलाई आक्रमण गर्ने नीति नरहेको उल्लेख गरिएको छ।

यूनिफिलका अधिकारीहरू के भन्छन्?

लेबनानस्थित यूनिफिल मिशनका सूचना अधिकारी तिलक पोखरेल शान्ति सैनिकहरूको सुरक्षा उच्च प्राथमिकतामा राखिएको बताउनुहुन्छ।

उहाँ भन्नुहुन्छ, “मिशनले सबै खालका सावधानीका उपायहरू अपनाएको छ। सुरक्षा सबैभन्दा मुख्य प्राथमिकता हो। द्वन्द्वरत पक्षहरूले संयुक्त राष्ट्रसङ्घ निसाना होइन भनेर आश्वस्त पारेका छन्।”

नेपाली फौज तैनाथ रहेको ुब्लू लाइनु नजिकैको संवेदनशील भूभाग पार गरेर इजरायली डिफेन्स फोर्सेसले स्थलकारबाही चालु राखेको छ। राष्ट्रसङ्घले लेबनानको भूभागभित्र इजरायली सुरक्षाकर्मीहरूको उपस्थितिलाई चिन्ताजनक भनेको छ।

सूचना अधिकारी पोखरेल भन्नुहुन्छ, “शान्ति सैनिकहरूलाई आफू तैनाथ शिविरको सुरक्षा र राशनको आपूर्तिबाहेक अरू अवस्थामा क्याम्पभन्दा बाहिर ननिस्कन निर्देशन दिइएको छ। तर विशेष परिस्थितिमा सम्बन्धित पक्षहरूसँग समन्वय गरेर द्वन्द्वमा फसेका मानिसहरूको उद्धारका काममा पनि शान्ति सैनिकहरू खटिएका छन्।”

घानाका शान्ति सैनिकहरूमाथि आक्रमण गरिएपछि नेपाल, भारत र यूकेसहित झन्डै ३० वटा देशहरूले संयुक्त विज्ञप्ति निकालेर लेबनानमा चर्किएको द्वन्द्वप्रति चिन्ता जनाउँदै तत्काल शान्ति कायम गर्न अपील गरेका थिए।

उक्त संयुक्त अपीलमा शान्ति सैनिकहरूमाथि आक्रमण गर्नेलाई जबाफदेही बनाइनुपर्ने र जस्तोसुकै परिस्थितिमा पनि यूनिफिलका शान्ति सैनिक र परिसरहरू अन्तर्राष्ट्रिय कानुनअनुसार सुरक्षित राखिनुपर्नेमा जोड दिइएको थियो।

राष्ट्रसङ्घले शान्ति सैनिकमाथिको आक्रमण र धम्की अस्वीकार्य हुने धारणा राख्दै आएको छ।

आइतवार जारी गरिएको एउटा विज्ञप्तिमा यूनिफिलले भनेको छ, “हामी सबै पक्षलाई जुनसुकै बेला पनि राष्ट्रसङ्घीय कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्ने र गैरसैनिक हताहत हुने सम्भावना नियन्त्रणका लागि आवश्यक कदमहरू चाल्नुपर्ने अन्तर्राष्ट्रिय कानुनले तोकेको उनीहरूको दायित्व सम्झाउन चाहन्छौँ।”

यूनिफिलका शान्ति सैनिकहरूमाथि कुनै पनि आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लङ्घन हो भन्दै त्यस्ता घटनामा युद्ध अपराधको कसुरमा कारबाही चल्न सक्ने चेतावनी राष्ट्रसङ्घले दिने गरेको पाइन्छ।

पछिल्लो पटक द्वन्द्व सुरु भएयता लेबनानमा १० लाखभन्दा बढी मानिसहरू विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ। मङ्गलवारसम्मको आँकडाअनुसार लेबनानमा मार्च २ यता ९ सय जनाभन्दा बढीको ज्यान गइसकेको छ।

Share Now