Prakash Adhikari March 20, 2026

 

पाथीभरा(ताप्लेजुड.), ७ चैत्र । पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा क्षेत्रमा हिउँ परेको छ ।

पाथीभरा माताको दर्शन गर्न पुगेका भक्तजनहरु हिउँ परेपछि दंग परेका छन् । पाथीभरा माताको दर्शनको सन्तुष्टिसंगै उनीहरुको हिउँ खेल्ने रहर पनि मेटिएको छ ।

हिजो शुक्रवार पूर्वी नेपालमा बर्षा सुरु भएपछि हिमाली क्षेत्रमा हिउँ परेको हो । हिउँ परेकोले ताप्लेजुड.का डाँडाकाडा सेताम्मे बनेका छन् । पाथीभरामा यो वर्षको पाँचौं पटक हिउँ परेको हो ।

जल तथा मौसम विज्ञान विभागले पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले मौसम बदली भई पश्चिम नेपालबाट सुरु भएको वर्षा पूर्वी नेपाल पुगेको बताएको छ ।

जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विनु महर्जनले अहिले शुक्रवार देशभर नै मौसम बदली रहेको धेरै क्षेत्रमा हल्का वर्षा भइरहेको जानकारी दिनुभएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले साँझ जारी गरेको बुलेटिनअनुसार शुक्रवार राति देशभर अधिकांश बादल लाग्ने तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीबताससहित मध्यम वर्षा र हिमपातको सम्भावना थियो भने कोशी, मधेस र लुम्बिनी प्रदेशको केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको जनाइएको थियो ।

त्यसैगरी, शनिबार देशभर अधिकांश बादल लाग्ने र कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जनरचट्याङरअसिनारहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ । शनिबार रातिदेखि भने विस्तारै मौसम खुल्दै जाने जनाइएको छ ।

Share Now