काठमाडौं, १७ चैत्र । हालै सम्पन्न प्रतिनिधि सभामा झण्डै दुई तिहाई सिट जितेर राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ उपाध्यक्ष बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन गरेपछि लगातार दुई दिन ओरालो लागेको नेपालको शेयर बजार मंगलबार उकालो लागेर बन्द भएको छ।
यस दिन धितोपत्र बजार परिसूचक १९.७० अंक बढेर २८५१.०९ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सूचक सेन्सेटिभ इण्डेक्स ३.२६ अंकले बढेको छ भने बजारमा प्रवाहित भएका शेयरहरुको कारोबार मापन गर्ने फ्लोट इण्डेक्स १.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०२ अंक बढेको छ।
मंगलवार धितोपत्र बजार परिसूचक बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। सोमबार करिब १३ अर्ब रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा मंंगलवार ३ सय ३९ स्टकको २ करोड ७९ लाख ४२ हजार कित्ता शेयर खरिदबिक्री बाट ११ अर्ब ११ करोड २४ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
त्यस्तै, यस दिन सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ८.९६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४८ करोड ४८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन अपि पावर कम्पनीको करिब ४१ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम साढे ३७ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १।९४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशत बढेको छ। यस दिन म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य घटेको हो।
अर्थमन्त्री वाग्लेको आश्वासन पछि रोकियो ओरालो यात्रा
आज पनि सुरुदेखि बजारले घट्ने प्रवृत्ति देखाएको थियो । बीचमा केही बढेर पुनः ओरालो यात्रामा शेयर बजार हिडेपछि लगानीकर्ताको एक समूहले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर बजारले सरकारप्रति नकारात्मक सन्देश दिएकोले यसलाई सच्याउन आवश्यक भएको अवगत गराएको थियो ।
सक्रिय लगानीकर्ता रोहन कार्कीको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री वाग्लेलाई भेटी बजारमा देखिएको अनपेक्षित गिरावटका कारण लगानीकर्ता अत्तालिएको जानकारी गराएको हो।
भेटमा अर्थमन्त्री वाग्लेले लगानीकर्तालाई नआत्तिन र संयमित हुन आग्रह गर्नुभएको थियो । उहाँले लगानीकर्तालाई अहिले सरकारले जे जति काम गरिरहेको छ, ती सबै राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन पूर्व आफ्नो बाचा पत्रमा उल्लेख गरेका विषयहरू नै हुन्। त्यसबाहेक अन्य नयाँ वा फरक काम थालिएको छैन। बाचा पत्रमा शेयर बजारको विकासका लागि स्पष्ट मार्गचित्र कोरिएको छ र ती सबै बुँदा अक्षरशः पालना हुनेमा निश्चित हुन म लगानीकर्तालाई आग्रह गर्छु।ु भनेर आश्वासन दिएको कुरा बजारमा आएपछि लगानीकर्ताको मनोबल उठेको हो ।
अर्थमन्त्री वाग्लेले शेयर बजारको सुधारका लागि के गर्नुपर्छ भन्ने विषय पहिले नै तय भइसकेको भन्दै व्यवसायी वा लगानीकर्तालाई तर्साउने काम यो सरकारले नगर्ने स्पष्ट पार्नुभएको थियो ।
झण्डै दुईतिहाइको बहुमतसाथ सरकार बनेको बेला सकारात्मक सर्किट हान्ने अपेक्षा गरेका लगानीकर्ता विदाको दिन विशिष्ट व्यक्तिहरुलाई पक्राउ गरिएको र सरकारको १०० बुँदे सुधार कार्यक्रममा ४८ सालपछि राजनीतिक नियुक्ति लिएका र उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्ने विषयका कारण तर्सिएका थिए । यसैले लगानीकर्ताको अपेक्षा विपरित साताको पहिलो दिन आइतबार धितोपत्र बजार परिसूचक ७१.०६ अंकले र सोमबार थप ४७.७१ अंकले ओरालो लाग्दै २८३१.३९ विन्दुमा थामिएको थियो।
आज पनि शुरुमा बजार ओरालो लागेपछि चिन्तित लगानीकर्ताले अर्थमन्त्रीलाई भेटेर पूँजी बजार सुधारका विषयमा आठबूँदै सुझाव पनि दिएका थिए । जुन यस्तो छः
१)विगत तीन चार वर्षदेखि नेपाल धितोपत्र बोर्डमा भएको आर्थिक चलखेल र आईपीओ निष्कासनमा देखिएका व्यापक नीतिगत घोटालाहरूको छानबिन गर्न एक स्वतन्त्र र उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्दछ । दोषी देखिएका पदाधिकारी र कर्मचारीमाथि कारबाहीको दायरामा ल्याउनु पर्दछ ।
२) संस्थापक र सर्वसाधारण शेयरधनी छुट्याउने गरी तयार पारिएको अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर सम्बन्धी निर्देशिका विगत ५ महिनादेखि धितोपत्र बोर्डमा रोकिएको छ । त्यसलाई तत्काल स्वीकृत गरी कार्यान्वयनमा ल्याउनु पर्दछ ।
३) एकपटकको नेपाली सधैंको नेपाली अभियानलाई सार्थक बनाउन र विदेशमा रहेका नेपालीको लगानी स्वदेश भित्र्याउन गैर आवासीय नेपालीहरूलाई विना सर्त दोस्रो बजारमा लगानी गर्ने बाटो खुला गर्नु पर्दछ ।
४) नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीहरूलाई प्रिमियम वा बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न रोक लगाउनु पर्दछ । ७० देखि ८० रुपैयाँ नेटवर्थ भएका कम्पनीलाई १०० रुपैयाँमा आईपीओ ल्याउन दिएर सर्वसाधारणलाई ठग्ने काम बन्द पर्दछ ।
५ ) कम्पनीहरूलाई बलियो बनाउन संस्थापकहरूको हिस्सा न्यूनतम ३० प्रतिशत हुनुपर्ने र आईपीओ निष्कासनको ३ वर्षपछि मात्रै क्रमिक रूपमा ‘लक–इन’ अवधि खोल्ने व्यवस्था मिलाउनु पर्दछ ।
६) सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालक बन्नका लागि लगानीलाई नै प्रमुख योग्यता मानिनुपर्ने र सञ्चालकहरूलाई लगानीकर्ताप्रति बढी जवाफदेही बनाउनु पर्दछ ।
७)धितोपत्र बोर्ड, नेप्से र सिडिएससीले नियमहरू बनाउँदा लगानीकर्ताहरूको राय लिनुपर्ने र ती निकायका सञ्चालक समितिमा लगानीकर्ताका प्रतिनिधिहरूलाई अनिवार्य सामेल गराउनु पर्दछ ।
८) नेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाका लागि प्राप्त कार्यदलको प्रतिवेदन तत्काल कार्यान्वयन गरी बजारलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी बनाउनु पर्दछ।


















