
क्वालालम्पुर(मलेसिया), ३ असोज (रासस) । मलेसियाका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई बुधबार पक्राउ गरिएको छ।
राज्यको लगानी कोषको दशौँ लाख रकम अनियमितता गरेको आरोपमा उनलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जनाएका छन्।
नाजिब र उनका सहकर्मीहरुले राज्य कोषको दुरुपयोग गरेको भन्दै केही महिनादेखि अनुसन्धान भइरहेको थियो।
गत मे महिनामा भएको निर्वाचनमा पनि नाजिबले राज्यको शक्ति र श्रोतको दुरुपयोग गरेको आरोप लगाउँदै महाथिर मोहम्मद नेतृत्वको गठबन्धनले जित हासिल गरेको थियो। उनको गठबन्धनले नै अहिले सरकार बनाएको छ ।
विगतमा रजाककै संरक्षक रहेका ९३ वर्षीय महाथिरले नाजिबले मुलुकलाई सही दिशातिर लैजान नसकेको भन्दै आफू फेरि राजनीतिमा फर्किनु परेको चुनावी नारा बनाएका थिए।
नयाँ सरकार बनेको केही समयमै पूर्वप्रधानमन्त्री नाजिबलाई अनियमिततासम्बन्धी सात वटा आरोप लगाइएको थियो। तर पक्राउ भने बुधबार गरिएको छ।
पक्राउ परेका नाजिबलाई बिहीबार दिउँसो अदालतमा लगिने भएको छ। त्यहाँ उनीविरुद्ध लगाइएका आरोपहरुका बारेमा मुद्दा चलाउन लैजान लागिएको भ्रष्टाचारविरुद्धको आयोगले जनाएको छ।