Prakash Adhikari September 21, 2018

काठमाडौं, ५ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख नविन घिमिरेले भ्रष्टाचारीलाई निर्ममतापूर्वक कारबाहीको दायरामा ल्याउन कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

Image may contain: 1 person, standing

उहाँले प्रमुख आयुक्तको पदबहालीका अवसरमा कर्मचारीहरुलाई बिहिबार साँझ संबोधन गर्दा सो कुरा बताउनु भएको हो । उहाँले यस कार्यमा आयोगका आयुक्तज्यूहरू लगायत सबै कर्मचारीहरूको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो।

बिहिबारै संसदीय सुनुवाई समितिबाट सिफारीस हुनुभएका घिमिरे राष्ट्रपतिबाट नियुक्त भई साँझ पद तथा गोपनीयताको सपथ लिनुभएको थियो ।

कार्यबहाक प्रमुख आयुक्तको रुपमा काम गरिसक्नुभएका प्रमुख आयुक्त घिमिरेले यो पद आफ्नोलागि अवसर र चुनौती दुवै भएको र यो चुनौतीको सामना गर्ने अठोट र साहस आफूमा रहेको दावी गर्नुभयो। उहाँले आयोगलाई नेपाली जनताले भरोसा र विश्वास गर्नसक्ने व्यावसायिक तथा प्रतिवद्ध संस्थाका रूपमा विकास गर्ने पनि बाचा गर्नुभयो । उहाँले भ्रष्टाचारलाई निर्मम प्रहार गर्नसक्ने क्षमता र अठोट आफूमा रहेको दावी पनि गर्नुभयो ।

Image may contain: 1 person, crowd and indoor

उहाँले राज्यले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पादन गर्न र यस आयोगलाई नमूना संस्थाका रूपमा विकास गरी संस्थाको कार्यप्रति कसैले प्रश्न उठाउन नपाउने गरी मुलुक र जनताप्रति इमान्दारी र निष्ठापूर्वक काम गर्ने पनि बताउनुभयो ।

स्वागत कार्यक्रममा आयोगका आयुक्तहरुले आयोगको सक्रियताबाट भ्रष्टाचार नियन्त्रणमा मुलुकले ठूलो फड्को मार्न सक्ने सम्भावनाको ढोका खुलेको कुरा स्पष्ट पार्नुभएको थियो।

स्वागत कार्यक्रममा आयोगका सचिव महेश्वर न्यौपानेले स्वागत मन्तव्य राख्नुहुँदै उहाँको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले भ्रष्टाचार नियन्त्रणको कार्ययोजना र प्रतिवद्धतालाई कार्यान्वयन गर्न आयोग परिवार एक ढिक्का भएर लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।

प्रमुख आयुक्त घिमिरे २०७१ साल चैत १९ मा आयोगको आयुक्तमा नियुक्त भई मिति २०७४ साल फागुन २ गतेबाट कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो।

Share Now

Leave a comment.