काठमाडौँ, १७ जेठ। प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदन बहुमतको दम्भको आधारमा पारित गर्न लागेपछि विपक्षी दलका सांसदहरूले सभामुखको आसन र बेलसमेत घेराउ गरी चर्को नाराबाजी गरेका छन् ।
आइतबार साँझ साढे ८ बजे सुरु भएको बैठकमा विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपालगायत सांसदहरूले बेल घेराउ गर्दै चर्को नाराबाजी गरे । नियमावली मस्यौदा समितिले पेस गरेको प्रतिवेदनलाई थप छलफलका लागि संसदीय समितिमा पठाउनुपर्ने माग राख्दै उनीहरूले सभामुखको आसनसमेत घेराउ गरेका हुन् ।
कार्यसूचीअनुसार प्रतिनिधिसभा नियमावलीमाथि दफावार छलफल सकेर सभामा संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी भइरहेको थियो । सोही क्रममा विपक्षी सांसदहरूले नियमावलीलाई पुनः संसदीय समितिमा पठाइनुपर्ने अडान राख्दै विरोध सुरु गरेका हुन् ।
आज पेशभएको प्रतिनिधिसभा नियमावलीमा फौजदारी अभियोग लागेका सांसदहरुलाई पनि उन्मुक्ति दिनेमिल्ने खालका प्रावधान छन् । हालै मानवअधिकार आयोगले रास्वपाका झण्डै डेढ दर्जन सांसदहरु जेनजी आन्दोलनमा राष्ट्रिय सम्पत्ति र सम्पदाको आजगनी र ध्वंसात्मक कार्यमा संलग्न भएको पाइएकोले उनीहरुमाथि थप अनुसन्धान गरी कारवाही गर्नुपर्ने सिफारिस गरेको छ ।
रास्वपा सांसद गणेश पराजुलीको नेतृत्वमा गठित प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले तयार पारेको प्रतिवेदनमाथि केही सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका थिए । विपक्षीहरुको माग मुताविक समितिमा लगेर ती विषयको तार्किक निष्कर्ष निकाल्ने उपाय छोडेर प्रतिनिधि सभाको बहुमतले पारित गर्न खोजेपछि विपक्षी दलहरुले संसदमा हंगामा गरेका हुन् ।
तर झण्डै दुई तिहाई बहुमतमा रहेको सत्तारुढा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरुको वचाउ गर्ने कवचको रुपमा यो नियमावलीलाई पारित गर्न विपक्षीका सबै संशोधन अस्वीकृत गरी आफ्नो अनुकूल पारित गरेको छ । यो नियमावली नेपालको संविधानसंग र प्रचलित अन्य ऐनसंग बाझिएको भए नियमावलीभन्दा ऐन र संविधानको कानूनी हैसियत माथि हुनेभएकोले बाझिएको हदसम्म अमान्य हुने देखिन्छ । यसैले प्रतिनिधिसभाले पारित गरेपनि यसको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा पर्ने निश्चित जस्तै छ ।








