पुल्चोक(ललितपुर), २८ जेठ। उद्योगी एवम् व्यवसायी सुलभ अग्रवाल, शाहिल अग्रवाल र शंकरलाल अग्रवाल र दीपक भट्टविरुद्ध बैंकिङ कसुरमा मुद्दा दायर भएको छ ।
उहाँहरूविरुद्ध उच्च अदालत पाटन, ललितपुरमा मुद्दा दायर भएको हो । अदालतमा दायर भएको अभियोगपत्रअनुसार उहाँहरूविरुद्द ४२ करोड १४ लाख ८८ हजार ८ सय ७ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
उहाँहरू सबैलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ ले निषेध गरेको कसुर गरेको दाबी गर्दै मुद्दा दायर भएको हो ।
जगदम्बा स्टिल्सका सञ्चालक अध्यक्ष शाहिल अग्रवाल, कम्पनीका खाताका हस्ताक्षरकर्ता सञ्चालक सुलभ अग्रवाल र दीपक भट्टले आपसी मिलेमतोमा जगदम्बा स्टील्सको कम्पनी सञ्चालनकालागि नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको अगुवाइमा सहवित्तीयकरण बैंकहरू प्राप्त गरेको र चालु पूँजी र अल्पकालीन कर्जालाई योजनाबद्ध रूपमा दुरुपयोग गरी शेयर लगानी गरी कर्जा दुरुपयोग गरेको अभियोग लगाइएको बताइएको छ ।








