भैरहवा (रुपन्देही), ६ असारः अन्तरराष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा लुम्बिनीमा एक दिवसीय विशेष योगाभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
नेपालका लागि भारतीय राजदूतावास र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको आयोजना तथा लुम्बिनी विकास कोषको सहकार्यमा आज उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सहभागीहरुले सामूहिक रुपमा विभिन्न योगासन तथा प्राणायाम अभ्यास गरेका थिए । योगमार्फत शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
त्यस अवसरमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले योग सहरी जीवनशैली अपनाउने तथा दिनभर कार्यालय, उद्योग–व्यवसाय र अन्य व्यस्त काममा संलग्न व्यक्तिहरुका लागि अत्यन्त उपयोगी रहेको बताउनुभएको छ । उहाँले ग्रामीण र सहरी जीवनशैलीबीचको भिन्नता उल्लेख गर्दै योगको आवश्यकता जीवनशैलीअनुसार फरक हुने धारणा राख्नुभयो ।
लुम्बिनीस्थित लिटिल बुद्धको प्रतीमा अगाडि आयोजित योगाभ्यासमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, भारतीय दूतावासका प्रथम सचिव नारायण सिंह, लुम्बिनी विकास कोषका कर्मचारीसहित ५०० भन्दाबढी योग साधकहरुको सहभागिता थियो ।