सियाटल(संयुक्त राज्य अमेरिका), १४ आषाढ(एजेन्सी) फिफा विश्वकप २०२६ मा इरानले समूह चरणमा कुनै पनि खेल हारेन । तर गोल अन्तरको आधारमा पहिलो पटक नकआउट चरण पुग्ने सपना पीडादायी ढंगले गुमाएको छ।
विश्वकप सुरु हुनुअघि नै असाधारण चुनौतीको सामना गरेको प्रशिक्षक अमिर घालेनोईको टोली दुईपटक अन्तिम क्षणमा भाग्यले साथ नदिँदा इतिहास रच्नबाट बञ्चित भएको थियो।
न्युजिल्यान्ड र बेल्जियमसँग बराबरी खेलेपछि इरानलाई समूह चरणको अन्तिम खेलमा इजिप्टलाई हराए मात्र अन्तिम ३२ मा स्थान बनाउने अवसर थियो।
खेलको सुरुमै पछि परेको इरानले मेहदी तारेमीको पेनाल्टी बचाए पनि रामिन रेजाइयानको गोलबाट खेल बराबरीमा पुर्यायो।
दोस्रो हाफको इन्जुरी समयमा शोजा खलिलजादेहले गोल गर्दै इरानलाई २-१ को अग्रता दिलाए। खेलाडी र समर्थकले खुसीयाली मनाइसकेका थिए।
तर भिडियो सहायक रेफ्री (भिएआर) ले उनको खुट्टाको औंला विपक्षी डिफेन्डरभन्दा सामान्य रूपमा अगाडि रहेको भन्दै गोललाई अफसाइडको संज्ञा दिइयो। खेल १-१ को बराबरीमा सकियो र इरानले आफ्नो नकआउट चरण प्रवेशको लागि अन्य खेलको नतिजामा भर पर्नुपर्ने अवस्था बन्यो।
इरानको आशा अल्जेरिया र अस्ट्रियाबीचको खेलमा टिकेको थियो। त्यो खेलमा कुनै एक टोली विजयी भए इरान नकआउट चरणमा पुग्ने निश्चित थियो।
निर्धारित समयपछिको इन्जुरी समयमा रियाद महरेजले गोल गर्दै अल्जेरियालाई ३-२ को अग्रता दिलाएपछि इरानको खुशी फर्किएको थियो।
तर खेल सकिन केही सेकेन्ड मात्र बाँकी रहँदा अस्ट्रियाका सासा कालाज्ड्जिचले हेडमार्फत बराबरी गोल गरे। यो सँगै इरान लगातार दोस्रो दिन पनि अन्तिम क्षणमा नकआउट चरण पुग्ने अवसरबाट बञ्चित भयो।
समूह चरणमा तीनवटै खेल बराबरी खेलेपनि इरान गोल अन्तरमा पछि पर्दा उत्कृष्ट तेस्रो स्थानको टोली बन्न पनि असफल रह्यो।
सेनेगलले राम्रो गोलअन्तरका आधारमा अन्तिम ३२ मा स्थान सुरक्षित गर्यो । ग्रुप ‘एच’बाट तीनै खेल बराबरी खेलेको केप भर्डे दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गर्यो।
इरानको प्रदर्शनलाई अझ विशेष बनाउने पक्ष भने विश्वकप भर उसले भोग्नुपरेका असामान्य कठिनाइ हो। अमेरिका र इजरायलसँगको द्वन्द्वका कारण इरानले विश्वकपभर यात्रा र बसोबाससम्बन्धी कडा प्रतिबन्ध झेल्नुपर्यो।
विश्वकपअघि एरिजोनामा तय गरिएको प्रशिक्षण शिविरलाई मेक्सिकोको तिजुआनामा सारिएको थियो।
पहिलो दुई खेलका लागि टोलीलाई खेल हुनुभन्दा एक दिनअघि मात्र अमेरिकामा प्रवेश गर्न अनुमति दिइएको थियो। खेल सकिएकै दिन मेक्सिको फर्किनुपर्ने नियम लगाइएको थियो।
सियाटलमा भएको अन्तिम खेलका लागि मात्रै टोलीलाई दुई दिनअघि पुग्ने अनुमति दिइए पनि खेलपछि फेरि तिजुआना फर्काइएको थियो।
प्रशिक्षक अमिर घालेनोईले आफ्नो टोलीलाई विश्वकपकै ‘सबैभन्दा पीडित टोली’ को संज्ञा दिँदै आयोजक राष्ट्रको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरे।
उनले अन्य टोलीले सामान्य तयारीको अवसर पाउँदा आफ्नो टोलीले आवश्यक तयारी समयको आधाभन्दा पनि कम समय पाएको दाबी गरे।
‘म आफ्ना खेलाडीप्रति गर्व गर्छु। यी युवाले जे गरेका छन्। त्यो इतिहासमा लेखिनुपर्छ। आयोजक देशले हामीसँग अत्यन्तै अन्यायपूर्ण व्यवहार गर्यो,’ घालेनोईले भने, ‘यति धेरै कठिनाइका बाबजुद पनि हामीले उत्कृष्ट प्रदर्शन गर्यौं। भविष्यका विश्वकपमा आयोजक राष्ट्रले कुनै पनि टोलीसँग यस्तो व्यवहार नगर्ने सुनिश्चित गर्न म फिफासँग आग्रह गर्छु।’
विश्वकपको समूह चरणबाट बाहिरिए पनि इरानले असाधारण संघर्ष, धैर्यता र अपराजित प्रदर्शनमार्फत विश्व फुटबलमा सम्मान कमाएको छ।
तर विश्वकप इतिहासमा सबैभन्दा पीडादायी बहिर्गमनमध्ये एकको सामना गर्दै उनीहरूको सपना अन्तिम क्षणमा चकनाचुर भएको छ।








