काठमाडौं, १५ आषाढ । नेपाल क्रिकेट संघले यही जुलाई ११ देखि १८ जुलाईसम्म मलेसियामा हुने एसीसी यु १९ महिला प्रिमियर कपको लागि नेपाली टिमको घोषणा गरेको छ ।
संघले सोनी पाख्रिनको कप्तानीमा साना प्रवीण, अलिशाकुमारी यादव, साबित्री धामी, मनिषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, तृष्णा विश्वकर्मा, करिष्मा गुरुड, स्नेहा महरा, करुणा विष्ट, प्रतीमा शाह, प्रिश्ना रानामगर,साक्षी यादव र आश्ना चौधरी रहेका छन् ।
महिला प्रिमियर कप एसियाली क्रिकेट परिषद्द्वारा विशेष गरी एसियाभरिका महिला अन्डर(१९ राष्ट्रिय टोलीहरूका लागि आयोजना गरिएको विकासशील अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हो।
यसले एसोसिएट र उदीयमान राष्ट्रहरूका लागि युवा प्रतिभा विकास गर्न र महिला एसिया कप जस्ता उच्चस्तरीय महाद्वीपीय प्रतियोगिताहरूको लागि छनोट हुनको लागि एक स्वर्णीम अवसरका रूपमा काम गर्दछ।
प्रतियोगितामा एशियाका धेरै राष्ट्रिय टोलीहरू जस्तै नेपाल, कतार, युएई, ओमान, इण्डोनेशिया, कुवेत, हंगकंग, म्यानमार, मलेसिया, थाइल्याण्ड र सिंगापुरका टोलीहरुको सहभागिता रहने छ ।
यस प्रतियोगिताका खेलहरु मलेसियाको राजधानी क्वालम्पुरमा रहेका वायुमास क्रिकेट ओभल, वाईएसडी युकेएम ओभल बांगी र सेलेन्गोर टर्फ क्लबमा हुनेछन्।
नेपालले ११ जुलाईमा वाईएसडी युकेएम ओभल बांगीमा कतारको टोलीसंग पहिलो खेल खेल्ने छ । १२ जुलाईमा सिंगापुरसंग सोही रंगशालामा भिड्ने छ भने १४ जुलाईमा वायुमास ओभलमा हंगकंगसंग खेल्ने छ ।
जुलाई १५ र १६ मा क्वाटर फाइनल र नक आउट चरणका खेलहरु हुने छन् भने जुलाई १७ मा सेमिफाइनल र जुलाई १८ मा तेस्रो स्थान र फाइनलका खेलहरु हुनेछन् ।








