Prakash Adhikari July 1, 2026

हेटौंडा(मकवानपुर), १७ असार। बागमती विश्वविद्यालयले आफ्नो परीक्षा प्रणालीमा आमूल परिवर्तन गर्दै एक उदाहरणीय कार्य गरेको छ। विश्वविद्यालयले आफूअन्तर्गत सञ्चालित तीनवटा संकायको पहिलो सेमेष्टरको परीक्षा सकिएको मात्र एक हप्ता अर्थात् सातौँ दिनभित्र आज नतिजा प्रकाशित गरेको छ।

समयसापेक्ष गुणस्तरीय शिक्षासँगै परीक्षा प्रणालीलाई समेत चुस्त र प्रभावकारी बनाउँदै परीक्षाफल समयमा नै प्रकाशन गर्ने लक्ष्यअनुरूप यो सफलता मिलेको विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टीज)का अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले जानकारी दिए।

विश्वविद्यालयले एक वर्ष अघिदेखि व्यवस्थापन र कानुन (म्यानेजमेन्ट एन्ड ल), विज्ञान तथा प्रविधि (साइन्स एन्ड टेक्नोलोजी) का साथै शिक्षा तथा सामाजिक विज्ञान (एजुकेसन एन्ड सोसिएल साइन्स) संकायमा स्नातक तहको कक्षा सञ्चालन सुरु गरेको थियो।

आज तिनै तीनवटै संकायको पहिलो सेमेष्टरको परीक्षाफल एकैसाथ सार्वजनिक गरिएको हो। नेपालको उच्च शिक्षा क्षेत्रमा परीक्षाको नतिजा आउन महिनौँ कुर्नुपर्ने परिपाटीका बीच बागमती विश्वविद्यालयले देखाएको यो तदारुकता निकै सकारात्मक मानिएको छ।

प्रकाशित परीक्षाफल अनुसार विद्यार्थीहरूको उत्तीर्ण प्रतिशत पनि निकै उत्साहजनक देखिएको छ। विश्वविद्यालयका अनुसार सबैभन्दा बढी शिक्षा तथा सामाजिक विज्ञान सङ्कायमा ८९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

त्यसैगरी विज्ञान तथा प्रविधि संकायमा ७९.०३ प्रतिशत र व्यवस्थापन र कानुन संकायमा ७२.५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको विश्वविद्यालयले जनाएको छ। परीक्षा प्रणालीलाई बुझाउने यो चुस्तताले विद्यार्थीहरूको समय बचत गर्नुका साथै विश्वविद्यालयको साख समेत बढाएको छ।

Share Now