काठमाडौं, २२ आषाढ । एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित नेपालको लोकप्रिय इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम एनर्जी ड्रिंक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि ६ वटा फ्रेन्चाइज टोलीसँग मुख्य प्रायोजकका रूपमा सम्झौता गरेको छ।
कम्पनीले सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएको हो।
कम्पनीका अनुसार नेपाली खेलकुदको व्यावसायिक इतिहासमा निजी क्षेत्रबाट भएको यो सम्भवतः सबैभन्दा ठूलो प्रायोजन साझेदारी हो।
एक्स्ट्रिम एनर्जी ड्रिंक्सले काठमाडौं गोर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग मुख्य प्रायोजकका रूपमा सम्झौता गरेको हो।
सोमबार आयोजित विशेष कार्यक्रममा ६ वटै टोलीका प्रतिनिधि तथा एग्रो थाई फुड्स प्रालिकी बिजनेस हेड सोनिया राणाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
सम्झौताअनुसार एक्स्ट्रिम एनर्जी ड्रिंक्स सम्बन्धित टोलीहरूको मुख्य प्रायोजकका रूपमा आगामी तीन वर्षसम्म रहनेछ। यस अवधिमा सम्बन्धित टोलीहरूको प्लेइङ जर्सीको अगाडिको प्रमुख स्थानमा एक्स्ट्रिम एनर्जी ड्रिंक्सको लोगो रहनेछ।
कम्पनीका अनुसार यस सहकार्यले नेपाली क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता एनपीएलमार्फत ब्रान्डलाई अझ सशक्त रूपमा दर्शकमाझ स्थापित गर्नुका साथै नेपाली क्रिकेटको व्यावसायिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
कार्यक्रमका प्रमुख अतिथि क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले एक्स्ट्रिम एनर्जी ड्रिंक्स र एनपीएलका फ्रेन्चाइज टोलीहरूबीच भएको सहकार्यले नेपाली क्रिकेटको दिगो विकास, खेलाडीहरूको उज्ज्वल भविष्य निर्माण तथा समग्र क्रिकेट संरचनालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै एग्रो थाई फुड्स प्रालिका नेसनल सेल्स म्यानेजर कृष्ण दाहालले भने, “नेपाल प्रिमियर लिग (एनपीएल) नेपाली क्रिकेटकै सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता हो। यस प्रतियोगिताका ६ वटा फ्रेन्चाइज टोलीसँग मुख्य प्रायोजकका रूपमा सहकार्य गर्न पाउनु हाम्रो लागि गर्वको विषय हो। यो साझेदारी केवल ब्रान्ड प्रवर्द्धनका लागि मात्र नभई नेपाली क्रिकेटको दीर्घकालीन विकासप्रतिको हाम्रो प्रतिबद्धता पनि हो।”
एक्स्ट्रिम एनर्जी ड्रिंक्सले विगत केही वर्षदेखि नेपाली खेलकुद क्षेत्रमा निरन्तर लगानी गर्दै आएको छ।
कम्पनी नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक हुनुका साथै क्रिकेट, फुटबल, भलिबल, म्याराथन तथा अन्य राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सक्रिय रूपमा सहकार्य गर्दै आएको छ।








