क्वाललम्पुर(मलेसिया), २७ आषाढ । मलेसियामा आज सुरु भएको यु १९ वुमेन्स प्रिमियर कपमा नेपालले कतारलाई १ सय ५ रनको विशाल अन्तरले पराजित गरेको छ ।
ब्याटिड.मा नेपालकी सावित्री धामी र बलिड.मा रचना चौधरी चम्केपछि नेपालले कतारलाई विशाल रन अन्तरले पराजित गरेको हो ।
आज नेपालले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको कतारले २५ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेको थियो । कतार २० ओभरको खेलमा १२ ओभरमा अल आउट भयो ।
कतारलाई सस्तैमा रोक्न नेपालका रचना चौधरी र रिया शर्माले ३ । ३ , मनिषा उपाध्यायले २ र अनु कडायतले १ विकेट लिए ।
यस अगाडि नेपालले कतारसामु १ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ३ विकेटको क्षतिमा १ सय ३० रन बनायो । खेलमा ओपनर सावित्री धामीको अर्धशतक प्रहार गरिन । उनले ४७ बलमा ५२ रन बनाइन । सावित्रीले साना प्रविनसंग ८० रनको ओपनिंग साझेदारी गरेकी थिइन।
खेलमा साना प्रविनले २७, अञ्जली पाठकले २३ र त्रिसरा विश्वकर्माले नट आउट ५ रन जोडिन। सोनी पाख्रिन भने खाता नखोली आउट भइन । नेपालले एक लेगवाई, १८ वाईड र ४ नो बलबाट २३ रन अतिरिक्त आर्जन गरेको थियो ।








