Prakash Adhikari July 11, 2026

काठमाडौँ, २७ आषाढ । आत्मदाहका घाइते गणेश नेपालीको निधन भएको २४ घण्टा नबित्दै आत्मदाह दुस्प्रयासका अर्का घाइते ४५ वर्षीय अश्विन रावतको देहान्त भएको छ ।

उहाँको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पतालको डा.केडी जोशी जलन उपचार केन्द्रका प्रमुख डा अपार लामिछानेका अनुसार ७० प्रतिशत शरीर जलेको अवस्थामा अस्पताल भर्ना हुनुभएका उहाँको उपचारका क्रममा मृत्यु भएको हो ।

“हामीले उहाँलाई बचाउन हरसम्भव प्रयास गर्यौँ तर अत्यधिक जलनका कारण बचाउन सकिएन । उहाँको अनुहारसहित श्वासप्रश्वास नलीमा पनि आगोले धेरै असर गरेको थियो,” डा लामिछानेले भन्नुभयो ।

काठमाडौंको बुद्धनगर निवासी ५० वर्षीय व्यवसायी रावतले आफ्नै घरमा शनिबार आत्मदाहको प्रयास गर्नुभएको थियो ।

व्यवसाय धराशायी भएपछि सिर्जित मानसिक तनावका कारण उहाँले आत्मघाती कदम चालेको प्रारम्भिक विवरणहरूले देखाएका छन्।

राउत क्षेत्री सेवा समाजका सचिव रोशन राउतका अनुसार ंकेही समयअघि मात्रै भारतमा नशाको उपचार गराएर फर्किनुभएका रावतलाई हिँडडुलमा समेत समस्या भइरहेको थियो।

सिराहाको लाहान स्थायी ठेगाना भई हाल बुद्धनगरमा बस्दै आउनुभएका राउत ‘सुपर वायर एण्ड स्टिल इन्डस्ट्रियल प्रालि’ र ‘दिब्यश्री ट्रेड कन्सर्न प्रालि’ का सञ्चालक हुनुहुन्थ्यो।

उहाँले नदी किनारामा प्रयोग हुने ग्याभिन तार जालीको उत्पादन र चीनबाट फ्रिज, पंखाजस्ता होम अपिलियन्स सामान आयात गर्ने व्यवसाय गर्दै आउनुभएको थियो।

पारिवारिक स्रोतका अनुसार पछिल्लो समय व्यवसायमा आएको गिरावटका कारण उहाँ गम्भीर तनावमा हुनुहुन्थ्यो। व्यवसाय व्यवस्थापनका लागि उहाँले ललितपुरको भैसेपाटीमा रहेको जग्गा बिक्री गर्न खोज्नुभएको थियो, तर विभिन्न कारणले जग्गा बिक्री हुन सकेको थिएन।

यसअघि प्रहरीले छोरासँगको विवादका कारण आत्मदाह प्रयास गरेको उल्लेख गरे पनि परिवार र राउत क्षेत्री सेवा समाजले त्यसको खण्डन गरेका छन्।

सचिव रोशन राउतका अनुसार शनिबार श्रीमती र छोरा घरमा नभएको मौका छोपेर उहाँले यो कदम चाल्नुभयो। उहाँका अनुसार पारिवारिक बेमेल नभई व्यवसायिक संकट र स्वास्थ्य समस्याकै कारण उहाँले आत्मदाहको दुस्प्रयास गर्नुभएको हो । जसका कारण उहाँको निधन हुन गयो ।

राउत व्यवसायका अतिरिक्त सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय थिए। उनी राउत क्षेत्री सेवा समाजका अध्यक्ष समेत हुन्। बुद्धनगरस्थित बुद्ध विहार नजिकै रहेको आफ्नै घरको कम्पाउण्डभित्र उनले आफैंलाई आगो लगाएका थिए।

Share Now