काठमाडौं, २८ आषाढ। जल तथा मौसम विज्ञान विभागले आज दिउँसो र राति विभिन्न स्थानमा भारीदेखि धेरै भारी बर्षा हुने जानकारी दिएको छ । विभागका अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभाव पूर्ण रूपमा सक्रिय रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको दक्षिणी भूभाग नजिक सरेकाले देशभर मौसमी गतिविधिमा तीव्रता आएको हो।
हाल देशभरि नै अधिकांश बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
विभागका अनुसार आज दिउँसो देशभर अधिकांश बदली रहनेछ। देशका हिमाली भूभागका केही स्थानहरूका साथै पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै उच्च हिमाली भेगमा हिमपातको समेत सम्भावना रहेको छ।
यसैगरी मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानहरूमा र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको अनुमान गरिएको छ। दिउँसो कोशी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूका साथै मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
आज रातिको समयमा पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदलीको अवस्था रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही र बाँकी हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा, लुम्बिनी प्रदेशको पहाडी र तराईका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एवं तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने देखिन्छ।
विशेष गरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा मधेश प्रदेश लगायत गण्डकी प्रदेशको तराई र लुम्बिनी प्रदेशको पहाडी एवं तराई भूभागको एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको प्रक्षेपण गरिएको छ।
वर्षाका कारण पहाडी भूभागमा पहिरो जान सक्ने, तराईमा डुबान हुन सक्ने र नदी तटवर्ती क्षेत्रहरूमा जलसतह बढ्न सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीमा रहन आम सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ।








