काठमाडौं, १२ साउन। नेपाल भ्रमणमा रहेका जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष डा. तानाका अकिहिकोले अर्थ मन्त्रालयमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्नुभएको छ।
भेटवार्तामा आइकाका अध्यक्ष डा. तानाकाले नयाँ सरकारका प्राथमिकताहरूप्रति चासो व्यक्त गर्दै जापान नेपालको लामो समयदेखिको असल मित्र र विकास साझेदार रहेको उल्लेख गर्दै नयाँ सरकारसँग सहकार्य गर्न इच्छुक रहेको बताउनुभएको थियो।
प्रत्युत्तरमा अर्थमन्त्री डा. वाग्लेले सरकारले हालै तर्जुमा गरेको बजेटका प्राथमिकताहरूबारे चर्चा गर्दै सुशासनमार्फत सार्वजनिक सेवा प्रवाहमा सुधार र निजी क्षेत्रका लागि अनुकूल व्यावसायिक वातावरण बनाउनु नयाँ सरकारको उच्च प्राथमिकता रहेको स्पष्ट पार्नुभयो। साथै, उहाँले नेपालको भौतिक पूर्वाधार, सामाजिक क्षेत्र र मानव संसाधन विकासमा जापानले पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुभयो
सोही अवसरमा अर्थ मन्त्रालयमा मानव संसाधन छात्रवृत्ति कार्यक्रमसम्बन्धी आदान-प्रदान पत्र र अनुदान सम्झौतामा हस्ताक्षर भएको छ।
आदानप्रदान पत्रमा अर्थ सचिव डा. घनश्याम उपाध्याय र नेपालका लागि जापानी राजदूत माएदा तोरुले हस्ताक्षर गर्नुभयो।
यस्तै अनुदान सम्झौतामा अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका सहसचिव डा. धनिराम शर्मा र जेआइसीए नेपाल कार्यालयका प्रमुख प्रतिनिधि मात्सुजाकी मिजुकीले हस्ताक्षर गर्नुभयो।
यस कार्यक्रमअन्तर्गत जापान सरकारले नेपाललाई ४१० मिलियन जापानी येन बराबरको अनुदान सहायता उपलब्ध गराउनेछ। प्राप्त सहायताबाट नेपाल सरकारको निजामती सेवामा कार्यरत कर्मचारीलाई जापानका प्रतिष्ठित विश्वविद्यालयहरूमा स्नातकोत्तर तथा पीएचडी तहको अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिनेछ।
यसले नेपालको सार्वजनिक क्षेत्रमा नीति निर्माण र विकास व्यवस्थापनसम्बन्धी दक्षता अभिवृद्धि गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।








