Prakash Adhikari July 29, 2026

काठमाडौं, १३ साउन । अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा आज कृषि, वन तथा पर्यावरण मन्त्रालयले मन्त्री गिता चौधरीको उपस्थितिमा नेपालको पछिल्लो राष्ट्रिय बाघ गणनाको सङ्ख्या सार्वजनिक गर्दैछ।

सन् २०१० मा रूसको सेन्ट पिटर्सबर्गमा आयोजित बाघ शिखर सम्मेलनको घोषणासँगै हरेक वर्ष जुलाई २९ तारिखमा यो दिवस मनाउन थालिएको हो। तीव्र रूपमा घट्दै गएको बाघको सङ्ख्यालाई रोक्न र तिनको प्राकृतिक बासस्थानको संरक्षण गर्ने उद्देश्यका साथ नेपालसहित विश्वका १३ देशमा यो दिवस मनाउने गरिन्छ।

नेपालमा सामान्यतया प्रत्येक चारदेखि पाँच वर्षको अन्तरालमा बाघ, तिनको बासस्थान र आहारा प्रजातिको गणना गर्ने परम्परा छ। यसअघि सन् २०२२ मा गरिएको गणनाअनुसार नेपालमा बाघको संख्या ३५५ पुगेको थियो।

जसमध्ये सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा १२८, बर्दियामा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ भेटिएका थिए। पछिल्लो समय बासस्थानमा भएको सुधार, आहारा प्रजातिको वृद्धि तथा संरक्षण क्षेत्रमा देखिएको सकारात्मक परिवर्तनका कारण यसपटकको गणनामा बाघको सङ्ख्या थप बढ्ने अनुमान गरिएको छ।

गत पुस १ गतेदेखि सुरु गरिएको राष्ट्रिय बाघ सर्वेक्षण करिब तीन महिना लगाएर सम्पन्न गरिएको थियो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा विभिन्न साझेदार संस्था, नेपाली सेना, डिभिजन वन कार्यालय र स्थानीय उपभोक्ता समितिका प्राविधिक तथा स्वयंसेवक गरी करिब २५० जना जनशक्ति र एक हजार १०० ट्याप क्यामेरा प्रयोग गरेर सर्वेक्षण गरिएको हो।

यसका लागि तराई भूपरिका पाँच राष्ट्रिय निकुञ्ज तथा वन क्षेत्रलाई चितवन-पर्सा, बाँके-बर्दिया र शुक्लाफाँटा-लालझाडी कम्प्लेक्समा विभाजन गरी प्रत्येक दुई किलोमिटर वर्गाकार ग्रिडमा १५ दिनसम्म स्वचालित क्यामेरा जडान गरेर तथ्यांक संकलन गरिएको थियो।

सन् २०१० मा रसियामा भएको सम्मेलनमा सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने संकल्प गरिएकोमा नेपालले सन् २०१८ मै २३५ वटा बाघ पुर्‍याएर लक्ष्य हासिल गरिसकेको थियो।

सन् २०१० मा १२१ वटा मात्रै रहेको नेपालको बाघको संख्या सन् २०१४ मा १९८, सन् २०१८ मा २३५ र सन् २०२२ मा ३५५ पुगेको थियो। विश्वभर हाल ५ हजार ३५७ भन्दा बढी बाघ रहेकामा नेपाल चौथो स्थानमा पर्दछ। सबैभन्दा बढी भारतमा ३ हजार १६७ र रसियामा ७५० बाघ रहेका छन्।

बाघको संख्यामा उत्साहजनक वृद्धि भएसँगै यिनको व्यवस्थापन र मानव-बाघ द्वन्द्व भने चुनौतीका रूपमा देखा परेको छ। नेपालको वातावरणीय क्षमताअनुसार बाघको धान्ने क्षमता (क्यारिङ क्यापासिटी) करिब ४०० को हाराहारीमा रहेको अध्ययनले देखाएको छ।

मध्यवर्ती क्षेत्रका बासिन्दा घाँस-दाउरा गर्न र वस्तुभाउ चराउन जाने क्रममा बाघको आक्रमणमा पर्ने, चोरी सिकारी हुने तथा लामा पूर्वाधार वारपार गर्दा दुर्घटनामा पर्ने क्रम अझै रोकिएको छैन।

हाल मुलुकभर १६ वटा समस्याग्रस्त बाघलाई उद्धार गरी विभिन्न निकुञ्ज र चिडियाखानाका खोरहरूमा राखिएको छ। तिनको दैनिक हेरचाह र व्यवस्थापन खर्चिलो बन्दै गएकाले सरकारले चितवनको देवनगरमा करिब ५२ हेक्टर क्षेत्रफलमा ‘टाइगर सेन्चुरी’ बनाउने योजना अघि बढाएको छ।

यस योजनाले समस्याग्रस्त बाघलाई प्राकृतिक वातावरण उपलब्ध गराउनुका साथै पर्यापर्यटनमा पनि ठूलो सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

Share Now