Prakash Adhikari July 30, 2026
काठमाडौँ, १४ साउनः आइसिसी पुरुष  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न  खेलमा नेपाल नेदरल्यान्डसँग पराजित  भएको छ ।
नेदरल्यान्डसको युट्रेच्टमा भएको खेलमा नेदरल्यान्डले नेपाललाई  ५७ रनले पराजित गर्दै जित  हासिल गरेको हो । नेदरल्यान्डसले दिएको २२६ रनको लक्ष्य पछाएको नेपाल ४८ ओभरमा सबै विकेट गुमाउँदै १६८ रनमै समेटियो ।
नेपालका लागि  आसिफ शेखले सर्वाधिक ३८ रन बनाए भने रोहित पौडेलले २६ र करण केसीले २३ रन जोडे । त्यसबाहेक  अन्य ब्याट्सम्यानले उल्लेखनीय साझेदारी गर्न नसक्दा नेपाल लक्ष्यभन्दा निकै पछाडि रह्यो ।
नेदरल्यान्डका काइल क्लाइनले तीन विकेट लिए भने लोगान भान बिक, रुलोफ भान डर मर्वे र ज्याक लायन–काचेटले समान दुई–दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको  नेदरल्यान्डले निर्धारित  ५० ओभरमा नौ विकेटको क्षतिमा २२५ रन बनाएको  थियो । नेदरल्यान्डका नोआ क्रोसले ७० रन र कप्तान स्कट एडवड्र्सले ५७ रनको महत्वपूर्ण योगदान दिए ।
नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ३० रन खर्चेर चार विकेट लिए । त्यस्तै, दीपेन्द्र सिंह ऐरीले दुई तथा हेमन्त धामी र ललित राजवंशीले समान एक–एक विकेट लिए ।
नेपालको ब्याटिङ कमजोर देखिँदा विश्वकप लिग–२ मा महत्वपूर्ण अङ्क गुमाउन पुग्यो ।  विश्वकप क्रिकेट लिग २ को आठौँ त्रिकोणात्मक शृङ्खलामा नेपाल जितविहीन बन्यो । यसअघि नेपाल नेदरल्यान्डसँग छ विकेटले पराजित भएको थियो । त्यस्तै, नेपाल नामिबियासँग पहिलो खेलमा आठ विकेट र दोस्रो खेलमा तीन रनले पराजित भएको थियो ।
यस जितसँगै  ३१ खेलमा ३८ अङ्क बटुलेको नेदरल्यान्ड अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको छ । त्यस्तै, ३२ खेलमा  २४ अङ्क जोडेको नेपाल अङ्क तालिकाको छैटौँ स्थानमा छ । ४३ अङ्क जोडेको अमेरिका शीर्ष स्थानमा छ ।
यो सिरिजका चारै खेल जितेर उत्कृष्ट चार तिरको यात्रा तय गर्ने विश्वास गरिएको नेपाली पुरुष राष्ट्रिय टिमको नेदरल्याण्ड्सको मैदानमा भएको प्रदर्शन बिर्सन लायक रह्यो । नेपालमा झण्डै एकसाथ सम्पन्न दुईवटा सिरिज र एशियाली गेम्स छनोटमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टिम नेदरल्याण्ड्स श्रृखलामा क्रिकेटका बलिड., ब्याटिड. र फिल्डिड. तीनै पक्षमा कमजोर देखिनुको कारण पत्ता लगाएर त्यसको निराकरण खोज्न अत्यन्त जरुरी छ ।
टिमको नेतृत्वमा समस्या भए त्यो फेर्न पनि ढिलाई गर्नु हुँदैन् । टिममा मनोमालिन्य भए त्यसलाई हटाउन पनि तुरुन्तै पहल गर्नुपर्दछ । टिमका खेलाडीमा समस्या छ भने अनुहार हेरेर होइन, बल र ब्याटमा कसले राम्रो गरेको छ त्यसको आधारमा खेलाडी छनोट गरिनु पर्दछ । सिनियर टिमका सदस्यहरु असमर्थ भए जुनियर टिमबाट नयाँ खेलाडी भित्र्याएर टिमलाई चुस्त,दुरुस्त,सक्षम बनाउनु पर्दछ । यति खेर नेपाली क्रिकेटको निर्मम समीक्षा गर्नुपर्ने अवस्था छ । पुरुष टिममा मात्रै होइन, महिला टिममा पनि सुधारको खाँचो देखिएको छ ।
Share Now