Prakash Adhikari August 1, 2026

काठमाडौं, १६ साउन । नेपाली कांग्रेसभित्र मेलमिलापको संभावना लगभग सकिएको जस्तो छ । संस्थापन पक्षलाई सार्थक एकताको प्रयास नगरे साउन २९ गते राष्ट्रिय भेला गर्ने अल्टिमेटम दिएको इतर पक्षले राष्ट्रिय भेलाका लागि ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको घोषणा गरेको छ ।

शनिबार एक पत्रकार सम्मेलन आयोजना गर्दै डा. शशांक कोइरालाको संयोजकत्वमा आयोजक समिति गठन गरिएको जानकारी गराइएको हो।

राष्ट्रिय भेलाका लागि आयोजक समितिसहित १६ वटा विभिन्न समिति पनि बनाइएको प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिनुभएको छ।

इतर पक्षले काठमाडौंमा साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला हुने जानकारी यसअघि नै गराएको थियो ।

सोही अनुरुप आज आयोजक समिति घोषणा गरिएको हो । यो तयारी संगै नेपाली कांग्रेस विधिवत् रुपमा विभाजन हुने बिन्दुमा पुगेको आँकलन गरिएको छ ।

पत्रकार सम्मेलनलाई संबोधन गर्दै कांग्रेस नेता कोइरालाले नेपाली राजनीति विगत एक वर्षदेखि अनिश्चितता र हिंसाको भुमरीमा रुमल्लिएको र यसको प्रत्यक्ष असर नेपाली कांग्रेसमा परेको उल्लेख गर्नुभयो।

उहाँले२०८२ भदौ २४ गतेको हिंसात्मक घटनामा पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि भएको सांघातिक आक्रमण तथा पार्टी कार्यालयहरूमा भएको तोडफोडका कारण उत्पन्न त्रासदीपूर्ण अवस्थाको स्मरण गर्दै त्यस्तो संकटका बेला पार्टीमा एकताको आवश्यकता रहे पनि त्यसो हुन नसकेको बताउनुभयो।

देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै कोइरालाले पछिल्लो समय नागरिक स्वतन्त्रता र मानव अधिकार संकुचित हुँदै गएको तथा लोकतान्त्रिक संविधानमाथि प्रहार भइरहेको टिप्पणी गर्नुभयो। उहाँले सुनसरीको देवानगञ्जबाट सुरु भई मधेशका विभिन्न क्षेत्रमा फैलिएको साम्प्रदायिक हिंसाप्रति दुःख व्यक्त गर्दै उहाँले मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेहरूको उचित उपचारको माग गर्नुभयो।

उहाँले भन्नुभयो, ‘पार्टीको विधानबमोजिम कार्यकाल थप गर्नुपर्ने विषम परिस्थितिमा अप्रत्याशित रूपमा विशेष महाधिवेशनको प्रसङ्ग उठाइँदा आन्तरिक मतभेद बढ्यो, जसका कारण निर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम ल्याउन सकेन।’ धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नै राष्ट्रिय एकताको आधार भएको उल्लेख गर्दै उहाँले यसलाई कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो।

पार्टीभित्रको निराशा चिर्न र नीतिगत स्पष्टता कायम गर्न आयोजना गरिने राष्ट्रिय भेलामा वर्तमान तथा पूर्व पदाधिकारी, सांसद, प्रदेश तथा जिल्ला सभापति, भ्रातृ संगठनका प्रतिनिधि र लोकतान्त्रिक आन्दोलनका बुद्धिजीवीलाई निमन्त्रणा गरिएको छ।

उहाँको लिखित मन्तव्य यस्तो छः


आदरणीय पार्टीका पदाधिकारी एवं केन्द्रीय सदस्यहरु, संचारकर्मी मित्रहरु, उपस्थित दिदी बहिनी तथा दाजुभाईहरु, हार्दिक जयनेपाल !

विगत करिव एक वर्ष देखि नेपाली राजनीति अशान्त, अनिश्चितता र असहजताको भूमरीमा रुमलिरहेको छ । हिंसा, आगजनी र तोडफोडवाट जसरी आकस्मिकरुपमा राष्ट्रिय राजनीतिमा फेरबदल आयो त्यसैको दवाव र प्रभावले हाम्रो पार्टीलाई पनि गंभिर असर पु¥याएको छ । आज म नेपाली कांग्रेस स्थापना हुँदाको परिस्थिती, तत्कालिन निरङ्कुस जहाँनीया हुकुमी शासन, मुलूकको आर्थिक सामाजिक अवस्था र त्यो पिडादायी परिवेसमा वाँचेका प्रजाको अवस्था, निरङ्कुस जहाँनीया हुकुमी शासन विरुद्ध प्रजातन्त्र अर्थात आज हामीले भन्ने गरेको लोकतन्त्रका लागि हाम्रा अग्रजले खेलेको बलिदानीपूर्ण साहशिक योगदानको उच्च सम्मान गर्दै उहाँहरुलाई स्मरण गर्दछु ।

हाम्रो पार्टीको विधान वमोजिम केन्द्रीय कार्यसमितिको कार्यकाल सामान्य अवस्थामा चार वर्षको हुने र बिेशष असहज परिस्थिती आएमा एक वर्ष थप गर्न सकिने र चालिस प्रतिशत महाधिवेशन प्रतिनीधिले हस्ताक्षर गरि लिखितरुपमा माग गरेमा वा केन्द्रीय कार्य समितिले आवश्यक ठानेमा चार वर्ष अगावै पनि केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन बोलाउँन सक्ने प्राब्धान हुँदाहुँदै पार्टीका सवै तहको पदावधी चार वर्ष पुगिसकेको, २०८२ भाद्र २४ गतेको त्रासदीपूर्ण हिंसात्मक घटनामा पार्टी सभापति आदरणीय श्री शेरवहादुर देउवा र उहाँकी धर्मपत्नी तथा केन्द्रीय सदस्य डा।आरजु राणा देउवा माथि सांघातिक आक्रमण गरि मरणासन्न पारेको, उहाँहरु उपचाररत रहेको र अग्रज नेताहरुका निवासहरु तथा पार्टीको केन्द्रीय कार्यालय देखि प्रदेश, जिल्ला र स्थानीय तहका कार्यालयहरु जलाएर खरानी भई कुनै केही अभिलेख समेत पनि नरहेको त्रासदीपूर्ण विपदको अवस्था र तत्कालिन समयमा आम निर्वाचन घोषणा भई हामीले भाग लिने निर्णय समेत गरेको अवस्थामा अधिवेशन वा महाधिवेशनको अवधी स्वतः थप गर्नुपर्नेमा अप्रत्यासितरुपमा केही साथीहरु विशेष महाधिवेशनको अभियानमा लाग्नु भयो । परिणामतः पार्टी भित्र गंभिर मतभेद शुरु भयो । विवाद आयोग र अदालत सम्म मात्रै पुगेन कि पहिलो स्थानमा रहेको हाम्रो पार्टी नेपाली कांग्रेसले निर्वाचनमा लज्जास्पद हार व्यहोर्नु प¥यो ।

एकातर्फ अकल्पनीय ढंगले परिवर्तित वर्तमान राजनीतिक अवस्थामा राष्ट्रियता, लोकतन्त्र, नागरिक स्वतन्त्रता र मानव अधिकार दिनानुदिन संकुचित हुँदै गएको छ । नेपाली जनताले आठ दशक देखि पटक पटक आन्दोलन गरेर प्राप्त गरेको लोकतान्त्रिक संविधान माथि प्रहार भईरहेको छ भने अर्कातर्फ समाजमा धार्मिक तथा साम्प्र्रदायिक द्वन्द्वका घटनाहरु दिनानुदिन बढीरहेका छन् । करिव एक हप्ता पहिले सुनसरीको देवानगंजमा एक यूवाको हत्या भएपछि भड्किएको हिंसात्मक द्वन्द्व मधेसका अधिकांस क्षेत्रमा फैलिएको छ । साम्प्रदायिक झडपमा सुनसरी र सिराहामा थप यूवाहरुको ज्यान गईसकेको छ । यस घटनामा परि ज्यान गुमाउँने व्यक्तिहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु । घाईतेहरुको शिघ्र स्वास्थलाभको कामना सहित उनीहरुको उचित स्वास्थोपचारको व्यवस्था गर्न र मृतकका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न सरकारसंग माग गर्दछु । साथै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता नै हाम्रो परम्परा र राष्ट्रिय एकताको आधार भएकोले आ–आफ्नो ठाउँवाट हिंसा र उत्तेजना भड्किन नदिन तथा समाजमा शान्ति, सद्भाव र सामुदायिक सहिष्णुता कायम राख्न अहम भूमिका खेल्नका लागि सबैमा अनुरोध गर्दछु ।

मुलूकको यस्तो विषम परिस्थितीमा राजनीतिक स्थिरता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न हरेक पार्टी भित्रको वलियो एकता सहित राष्ट्रिय राजनीतिक शक्तिहरु बिच आपसी सहमति र सहकार्यको टड्कारो आवश्यकता देखिएको छ ।

पार्टी भित्रको वर्तमान अवस्था, मुलूकमा देखिएका राजनीतिक, आर्थिक, सामजिक तथा धार्मिक–सांसकृतिक लगायतका नागरिकका जीवनसंग जोडिएका विविध गंभिर सवालहरुमा गहन छलफल गरि देखिएका हरेक चुनौतिहरुलाई सामना गर्न सक्ने, बैचारिक, नीतिगत एवं सांगठानिक दृष्टिले स्पष्ट कार्य दिशा सहित पार्टीलाई सवल र सक्षम बनाउँने उद्देश्यले मेरै संयोजकत्वमा पाँच सय एकाउन्न सदस्यीय आयोजक समिति गठन गरि यही श्रावण २९ देखि ३१ गते सम्म काठमाण्डौमा राष्ट्रिय भेलाको अयोेजना गरिएको छ ।

पार्टी भित्र सम्पूर्ण एकताका लागि अनवरत प्रयाश, धैर्यता र पहल गर्दागर्दै पनि पदीय जिम्मेवारीमा रहेका साथीहरुवाट सार्थक भूमिका नखेलेपछि पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनीधि एवं समर्थक र शुभचिन्तकहरुमा देखिएको चिन्ता र निराशालाई सम्वोधन गर्न यो राष्ट्रिय भेला आयोजना गर्न हामी बाध्य भएका छौ ।

नेपाली कांग्रेसको चौधौ महाधिवेशनवाट निर्वाचित केन्द्रीय पदाधिकारी सदस्यहरु, पूर्व केन्द्रीय पदाधिकारी सदस्यहरु, नेपाली कांग्रेसवाट वनेका पूर्व मन्त्री एवं सांसदहरु, प्रदेश कार्यसमितिका सभापति तथा पदाधिकारीहरु, जिल्ला कार्यसमितिका सभापति र पदाधिकारीहरु, महानगर कार्यसमितिका सभापतिहरु, संसदिय निर्वाचन क्षेत्रीय सभापतिहरु, प्रदेश सभा निर्वाचन क्षेत्रीय सभापतिहरु, महासमिति तथा महाधिवेशन प्रतिनीधिहरु, भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका प्रमुख एवं प्रतिनीधिहरु, विदेशस्थित नेपाली जनसम्पर्क समितिका प्रमुख एवं प्रतिनीधिहरु, नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा योगदान पु¥याएका अग्रज नेताहरु, लोकतान्त्रिक आन्दोलनमा कलम चलाउँने वरिष्ठ लेखकहरु, पेशागत बुद्धिजवी तथा संचारकर्मी साथीहरु सहभागी हुने यो ऐतिहासिक राष्ट्रिय भेलामा यहाँहरु सवैलाई हार्दिक आमन्त्रण समेत गर्दछु ।

जय नेपाल !

मितिः २०८३ श्रावण १६ गते

डा. शशांक कोइराला

संयोजक, राष्ट्रिय भेला आयोजक समिति


 

Share Now