Prakash Adhikari August 1, 2026
  • प्रदीप बस्याल
    बीबीसी न्यूज नेपाली

काठमाडौं, १६ साउन । पाकिस्तानको ब्रोड पीकमा दुई दिनयता हराइरहेका चर्चित आरोही निर्मल पुर्जासहित सबै १० आरोहीहरूको मृत्यु भएको आरोहण सञ्चालकहरूले पुष्टि गरेका छन्।

नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले समेत सबै मृतकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ।

बिहीवार हिउँपहिरोमा परेपछि ख्यातिप्राप्त पर्वतारोही पुर्जाको नेतृत्वमा रहेको टोलीका सबै जना सम्पर्कविहीन भएका थिए।

शनिवार उहाँको कम्पनीले समेत सामाजिक सञ्जालमा त्यसको पुष्टि गर्दै पोस्ट लेखेको छ।

“आज, अत्यन्तै दुःख र मर्माहत भएर हामी ब्रोड पिकमा गएको हिमपहिरोमा परी निर्मल ‘निम्सदाइ’ पुर्जाले दुःखद रूपमा आफ्नो ज्यान गुमाउनुभएको छ। साथै यस अभियानमा संलग्न अन्य सदस्यहरू पनि जीवित रहन नसकेको पुष्टि भएको छ”, उक्त कम्पनीले फेसबुकमा राखेको पोस्टमा भनिएको छ।

बीबीसीसँग कुरा गर्दै सेभेन समिट्स ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले कोही जीवित नरहेको पुष्टि भएको बताउनुभयो।

“सबै शवहरू कहिलेसम्म ल्याउन सकिन्छ भन्ने केही टुङ्गो छैन। मौसमले साथ दिइरहेको छैन”, सेभेन समिट्सका अध्यक्ष शेर्पाले भन्नुभयो, “तर कोही जीवित रहनुभएन।”

नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले फेसबुकमा एक पोस्ट लेख्दै आरोहण दलका सदस्य मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।

“ब्रोड पिकमा विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ)सहित छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको छ”, शाहले लेख्नुभएको छ,”निर्मल पुर्जा लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ।”

हिमपहिरोमा परेका आरोही

दुई दिनअघिको सो हिमपहिरोमा नेपालमा जन्मनुभएका तथा भूतपूर्व ब्रिटिश रोयल मरिन समेत रहनुभएका पुर्जाबाहेक अरू पाँच नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी र एकजना चिनियाँ हराएका थिए।

त्यसमध्ये एक ओमानी, एक नेपालीको ज्यान गएको पाकिस्तानी अधिकारीहरूले शुक्रवार बताएका थिए। साँझ उनीहरूले अमेरिकी आरोहीको पनि मृत्यु भएको पुष्टि गरेका थिए।

नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का महासचिव राजेन्द्र लामाले मृत्युको पुष्टि गरिए तापनि शनिवार थप एक शव मात्र आधार शिविरमा ल्याउन सकिएको पाकिस्तानी अल्पाइन क्लबले आफूहरूलाई जानकारी दिएको बताउनुभयो।

पाकिस्तानको अल्पाइन क्लबले यसअघि शनिवारको आफ्नो इन्स्टाग्राम पोस्टमा थप कैयौँ शवहरू ड्रोनबाट देखिएको भन्दै उद्धार टोली त्यहाँ पुगेपछि मात्र पहिचान गर्न सम्भव हुने जनाएको छ।

पुर्जाको इलाइट एक्सपेडसहित सेभेन समिट्स र इम्याजिन नेपाल गरी नेपालका तीनवटा आरोहण सञ्चालन गर्ने कम्पनीका गाइड र उनीहरूको सेवा लिएका विदेशी आरोहीहरू यस हिमपहिरोमा परेका थिए।

काराकोरम पर्वतशृङ्खलामा पर्ने ब्रोड पीक विश्वको बाह्रौँ अग्लो हिमाल हो। यसको चुचुरो समुद्र सतहबाट ८,०५१ मिटरको उचाइमा छ।

Share Now