Prakash Adhikari August 3, 2026

 

काठमाडौं, १८ साउन । काठमाडौंका प्रतिष्ठित उद्योगपति र व्यवसायीहरुलाई पहिले थुन्ने अनि सुन्ने शैलीमा धरपकड गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको बालेन्द्र शाह नेतृत्वको सरकारले औद्योगिक नगरी विराटनगरका उद्योगपति र व्यापारीलाई पनि तर्साउन थालेको छ ।

आज बिहानै विराटनगरका प्रतिष्ठित उद्योगी तथा मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाको निवास र कार्यालयमा प्रहरीले अप्रत्याशित रूपमा छापा मार्यो।

उद्योगपति मुदण्डाको घरमा अवैध नगद लुकाएर राखिएको छ भन्ने गलत सूचनामा विश्वास गरेर मोरङ प्रहरीले मुन्दडाको विराटनगर–७ स्थित निवास र कार्यालयमा छापा हानेको थियो । करोडौँ रुपैयाँ बराबरको स्रोत नखुलेको अवैध नगद लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले सर्च अपरेसन चलाइएको बताएको छ।

कारबाहीको संवेदनशीलतालाई ध्यानमा राख्दै मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल आफैँ मैदानमा उत्रिनुभएको थियो। उहाँको नेतृत्वमा डीएसपीहरू मकेन्द्रकुमार मिश्र, सन्तोष श्रेष्ठ, लोकेन्द्रसिंह गुरु र इन्स्पेक्टर प्रवीण घिमिरेसहितको टोली परिचालन गरिएको थियो। झन्डै एक दर्जन प्रहरीका सवारीसाधन र ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी मुन्दडाको घर वरपरको क्षेत्रलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको थियो। खानतलासीका क्रममा जिल्ला प्रशासन कार्यालय र गोल्छा मोडतर्फ जाने सडकसमेत केही समयका लागि बन्द गरिएको थियो। बिहानैदेखि निवास र कार्यालयका कुनाकुना खोजी गरे पनि प्रहरीले कुनै पनि ुआपत्तिजनक सामग्रीु फेला पार्न सकेन। प्रहरीले आशंका गरेको अवैध नगद, शंकास्पद कागजात वा अन्य कुनै पनि प्रमाण फेला नपरेपछि रित्तो हात फर्कनु परेको छ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले विशेष सूचना आएपछि त्यसको प्रमाणीकरणका लागि छापा मारिएको स्वीकार गर्नुभएको छ । उहाँले भन्नुभयो, “हामीलाई अवैध नगद हुन सक्ने विशेष सूचना प्राप्त भएको थियो। सोही आधारमा विस्तृत खानतलासी गरियो, तर सूचना पुष्टि हुन सकेन। केही पनि फेला परेन।”

प्रहरीले सूचनाको स्रोत र अनुसन्धानको विस्तृत विषय गोप्य राखे पनि यस घटनाले विराटनगरको उद्योगी तथा व्यापारिक वृत्तमा ठूलो तरंग पैदा गरेको छ। विना ठोस प्रमाण प्रतिष्ठित उद्योगीको घरमा बिहानै छापा मारिएको भन्दै उद्योगीहरूले यसलाई विभिन्न दृष्टिकोणबाट विश्लेषण गरिरहेका छन्।

Share Now