काठमाडौं, १९ साउन । नेपालको उत्कृष्ट बैंक नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको छ ।
हबको सोमबार नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्ट, नबिल बैंकका अध्यक्ष निर्वाणकुमार चौधरी र बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
त्यस अवसरमा बैंकका सञ्चालक समितिका सदस्य तथा वरिष्ठ व्यवस्थापनका पदाधिकारीहरूको समेत उपस्थिति थियो ।
उच्च शिक्षाका लागि विदेश अध्ययन गर्न जान चाहने विद्यार्थी, उनीहरूका अभिभावक, शैक्षिक परामर्शदाता संस्था तथा शिक्षा क्षेत्रसँग सम्बन्धित अन्य सरोकारवालालाई लक्षित गरी एजुकेशन हब सञ्चालनमा ल्याइएको बैंकको भनाइ छ । उक्त हबबाट बैंकिङ, वित्तीय तथा परामर्श सेवा उपलब्ध हुने जनाइएको छ ।

नबिल बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले विद्यार्थीलाई आवश्यक वित्तीय पहुँच, मार्गदर्शन तथा बैंकिङ सहयोग उपलब्ध गराउने उद्देश्यले हब स्थापना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षामा गरिने लगानी एक व्यक्तिमा मात्रै नभइ समग्र परिवार, समाज र राष्ट्रको भविष्य निर्माणका लागि हो, मुलुकको शिक्षालाई थप सुदृढ बनाउनुका साथै भावी पुस्तालाई सशक्त बनाउने उद्देश्यले हबको स्थापना गरिएको हो ।देशैभरका शाखाहरूमा कम्तीमा एजुकेशन हबको एउटा काउन्टरको व्यवस्था गरेर यस पहललाई विस्तार गरिने छ ।”
नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले, एजुकेशन हबको सुरुवातले अष्ट्रेलिया र नेपालबीचको सम्बन्धको मूल मर्मभित्र रहेको शिक्षाको माध्यमबाट जनशक्तिमा लगानी गर्ने कार्यलाई प्रतिविम्बित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “भरपर्दो र पारदर्शी प्रणालीहरूले समग्र शैक्षिक क्षेत्रमा विश्वासको वातावरण सिर्जना गर्छ, जसबाट विद्यार्थी, परिवार, शैक्षिक संस्था र वित्तीय सेवा प्रदायकहरू सबै लाभान्वित हुन्छन् ।” विद्यार्थी तथा अभिभावकहरूका लागि ‘एकद्वार सहयोग केन्द्र’का रूपमा यो ‘हब’ स्थापना गर्ने नबिल बैंकको प्रतिबद्धतालाई स्वागत गर्दै उहाँले भन्नुभयो, “यो अवधारणा व्यवहारिक र समयसापेक्ष छ । साथै, छनोट तथा प्रमाणीकरण प्रक्रिया मजबुत बनाउन नबिल बैंकले गरेको प्रयासहरूको पनि दूतावास सराहना गर्दछ ।”
बैंकले शिक्षा मानव पुँजी निर्माण, राष्ट्रिय विकास तथा मुलुकको भविष्यका लागि गरिने दीर्घकालीन लगानी भएको जनाएको छ । साथै विगतदेखि नै आफ्नो देशव्यापी शाखा सञ्जालमार्फत हजारौं विद्यार्थीलाई शैक्षिक कर्जा तथा बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ । विद्यार्थी तथा अभिभावकलाई वित्तीय सहायता मात्र पर्याप्त नभएको उल्लेख गर्दै बैंकले एजुकेशन हबमार्फत विशेषज्ञ सेवा पनि उपलब्ध गराउने उल्लेख गरेको छ ।
त्यसैगरी, नबिल बैंक लिमिटेडका सञ्चालक अनन्त पौड्यालले भन्नुभयो, “विद्यार्थी तथा अभिभावकहरूको बदलिँदो आवश्यकता सम्बोधन गर्न एजुकेशन हब स्थापना गरिएको हो । शिक्षा कर्जा प्रवाहमा मात्र सीमित नरही यस हबले विदेश अध्ययनको सम्पूर्ण यात्रामा आवश्यक बैंकिङ सेवा, वित्तीय परामर्श तथा विशेष सहजीकरण प्रदान गर्नेछ ।” ग्राहक केन्द्रित नवप्रवर्तन र अर्थपूर्ण वित्तीय समाधानमार्फत दीर्घकालीन मूल्य सिर्जना गर्ने नबिल बैंकको प्रतिबद्धताको यो अर्को महत्वपूर्ण कदम रहेको उहाँको कथन थियो।

परम्परागत बैंकिङ सेवाभन्दा फरक, एजुकेशन हबले शिक्षा क्षेत्रका लागि नबिल बैंकलाई एक विश्वसनीय वित्तीय तथा ज्ञान साझेदारका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । हबमा शैक्षिक बैंकिङसम्बन्धी विशेषज्ञ टोली रहनेछ । जसले ग्राहकलाई छिटो, सहज तथा विशेषीकृत सेवा प्रदान गर्नेछ । बैंकको शैक्षिक कर्जाको प्रमुख विशेषतामध्ये एक विद्यार्थीको अध्ययन अवधिभर उपलब्ध हुने मोरेटोरियम सुविधा हो । यस सुविधाले विद्यार्थीलाई अध्ययन अवधिभर नियमित कर्जा किस्ता तिर्नुपर्ने बाध्यताबाट राहत प्रदान गर्दै अध्ययन, अनुसन्धान, सीप विकास तथा भावी करियर निर्माणमा केन्द्रित हुन सहयोग पु¥याउने बैंकको भनाइ छ ।
नबिल बैंक लिमिटेडका सिइओ मनोजकुमार ज्ञवालीले नेपालको बैंकिङ क्षेत्रमा यस प्रकारको सेवा पहिलो पटक उपलब्ध हुन लागेको बताउनुभयो । “अन्तर्राष्ट्रिय शिक्षातर्फ बढ्दो आकर्षणसँगै विद्यार्थीहरूको आवश्यकता वित्तीय सहायता मात्रमा सीमित नरहेको सन्दर्भमा, यस हबले शिक्षा कर्जा, विदेशी मुद्रा सेवा, वित्तीय योजना तथा आवश्यक बैंकिङ मार्गदर्शनलाई एकीकृत रूपमा उपलब्ध गराउनेछ,” सिइओ ज्ञवालीले जानकारी दिनुभयो । एजुकेशन हबमार्फत विद्यार्थी र अभिभावक दुवैलाई ऋण तथा परामर्श सेवा प्रदान गर्ने बताउँदै उहाँले भन्नुभयो, “विदेशमा अध्ययन गर्न चाहनेहरूका लागि यो केन्द्र वान स्टप सल्युसन अर्थात एकै स्थानबाट सबै समाधान दिने स्थानको रूपमा काम गर्नेछ ।”
विदेशमा अध्ययनको योजना बनाउने प्रारम्भिक चरणदेखि भर्ना प्रक्रिया, कर्जा व्यवस्थापन, विदेशी मुद्रा सेवा, अध्ययन सम्पन्न गर्नेसम्म तथा त्यसपछिको कर्जा भुक्तानी व्यवस्थापनसम्म आवश्यक पर्ने बैंकिङ सहायतालाई एकीकृत रूपमा उपलब्ध गराउने उद्देश्यसहित यस हबको स्थापना गरिएको हो ।
बैंकले आफ्नो देशव्यापी शाखा सञ्जाल ग्राहक सेवाको प्रमुख आधार रहेको स्पष्ट गर्दै एजुकेशन हब शाखाहरूको विकल्प नभई तिनलाई थप सशक्त र प्रभावकारी बनाउन स्थापित विशिष्टिकृत केन्द्र भएको जनाएको छ । यसले शिक्षा क्षेत्रसँग सम्बन्धित ग्राहकलाई विशेषज्ञ सेवा, छिटो निर्णय प्रक्रिया तथा अझ उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।

नबिल बैंक निजी क्षेत्रको एक अग्रणी वाणिज्य बैंक हो । बैंकले २६ लाख भन्दा बढी ग्राहकलाई देशभर रहेका २ सय ६४ शाखा सञ्जाल र ३ सय १५ एटीएम मेसिनमार्फत सेवा प्रदान गर्दै आएको छ । चार दशक देखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले हालसालै ग्राहक, समुदाय र समग्र देशको आर्थिक विकास लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यसाथ ‘बैंकिङ एण्ड बियन्ड’ अवधारणालाई अझ सशक्त रुपमा अगाडि बढाएको छ ।








