Prakash Adhikari October 9, 2018

क्वाललम्पुर(मलेसिया), २३ असोज । आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत मलेसियामा भैरहेको खेलमा नेपाली टोलीले आज भुटानसंग खेल्दैछ। खेल युकेएम ओभल मैदानमा नेपाली समय बिहान ७ः४५ बजे सुरु हुदैछ ।

प्रतियोगितामा यो नेपालको चौथो खेल हो । नेपालले यस अगाडि खेलेका ३ वटै खेल जितेको छ । नेपाल म्यानमार, मलेसिया र थाईल्याण्डलाई पराजित गर्दै समूहको अंकतालिकाको शिर्ष स्थानमा रहेको छ।

हालसम्मको खेलमा भुटानले ३ खेल मध्ये १ खेलमा जित र २ खेलमा हार बेहोरेको छ। अंकतालिकामा भुटान पाँचौ स्थानमा रहेको छ।

१२ बर्ष पछि भुटानसंग भेट

Bhutan Cricket Team
भुटान क्रिकेट टिमसंग नेपालले अन्तिम पटक सन् २००६ को एसीसी ट्रफीमा खेलेको थियो । महिला क्रिकेटमा नेपाल र भुटानको भेट भएपनि पुरुष क्रिकेटमा भने नेपाल १२ बर्ष पछि अहिले भेट हुँदैछ ।

भुटान राष्ट्रिय क्रिकेट टिमसंग नेपालले हालसम्म ५ पटक प्रतिस्पर्धा गरेको छ जसमा बर्षाको कारण रद्द भएको एक खेल बाहेक सबैमा नेपालले जितेको छ।

सन् २००३ एसीसी इमर्जिङ्ग टिम्स कप ( नेपाल )

सन् २००३ मा नेपालमै सम्पन्न एसीसी इमर्जिङ्ग टिम्स कप प्रतियोगितामा नेपालले भुटानलाई ३ सष् ५३ रनको बिशाल अन्तरले पराजित गरेको थियो। त्यस खेलमा कप्तान समेत रहेका राजु खड्काले नेपालको लागि पहिलो शतक प्रहार गर्दै कीर्तिमान कायम गरेका थिए।

टस हारेर ब्याटिंग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ९७ रन बनाएको थियो। राजु खड्काले १०५ रन (५० बल, १४ चौका र ४ छक्का ) बनाएका थिए भने सन्दिप श्रेष्ठले ६०, बिनोद दासले ४३, शक्ति गौचनले ३९ तथा पारस लुनियाले ३५ रन बनाएका थिए।

जवाफमा भुटान ४४ रनमै समेटिन पुगेको थियो। राजु बस्नेतले ५ तथा मेहबुब आलमले २ विकेट लिएपछि भुटान पराजित थियो।

सन् २००४ एसीसी ट्रफी ( मलेसिया )

समूह चरणमा भुटानलाई नेपालले ९ विकेटले पराजित गर्ने क्रममा भुटानले टस हारेर ब्याटिंग गर्दै पहिलो इनिंगमा मात्र ९१ रन बनाएको थियो। ९२ रनको लक्ष्य नेपालले १३ ओभरमा पूरा गर्यो ।

राजकुमार प्रधानले नेपालको लागि सर्वाधिक ३ तथा सन्जम रेग्मी र मेहबुब आलमले २।२ विकेट लिएका थिए भने ब्याटिंगमा मेहबुब आलमले ४४ तथा परेश लोहनीले ३० रन बनाएका थिए।

सन् २००४ एसीसी ट्रफी , प्लेअफ ( मलेसिया )

२००४ को एसीसी ट्रफी प्रतियोगितामा पाँचौ स्थानको लागि भएको प्लेअफ सेमीफाइनलमा नेपालले ६ विकेटको जित दर्ता गरेको थियो। टस जितेर ब्याटिंग गर्दै भुटानले ७२ रन बनाएको थियो र ७३ रनको लक्ष्य नेपालले १३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। बलिङ्गमा राजकुमार प्रधानले ४, मेहबुब आलमले ३ तथा सन्जम रेग्मीले २ विकेट लिए । ब्याटिंगमा पनि आलमले ४२ रन बनाएका थिए।

सन् २००६ एसीसी ट्रफी (मलेसिया)

टस हारेर ब्याटिंग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय १७ रनको योगफल तयार गरेको थियो। यस खेलमा भुटान ३६ रनमै समेटिन पुग्यो र नेपालले २ सय ८१ रनको विशाल जित दर्ता गर्यो।

नेपालको लागि ब्याटिंगमा पारस खड्काले सर्वाधिक ८७ तथा ज्ञानेन्द्र मल्लले ५२ रन बनाएका थिए भने बलिङ्गतर्फ बिनोद दासले ५ विकेट , मेहबूब आलमले ३ विकेट तथा शक्ति गौचनले २ विकेट लिएका थिए।

Share Now

Leave a comment.