Prakash Adhikari August 21, 2026

काठमाडौं, ४ भदौ । नेपाल वायु सेवा निगमको कायकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले बिहीबार उहाँविरुद्ध परेको निवेदनकोअन्तिम सुनुवाइ गर्दै नियुक्ति कानुनसम्मत नभएको ठहर गरेको हो ।

श्रेष्ठको नियुक्ति सरकारले तयार पारेको कार्यविधिको विपरित भएकोले बदर गरिपाउँ भन्दै निगमका सञ्चालक उपेन्द्रबहादुर कार्कीले निवेदन दिनुभएको थियो । उहाँले आफू अध्यक्ष हुनपर्ने भनेर राखेको मागमा भने दाबी नपुगेको सर्वोच्चले आदेशमा भनेको छ ।

निगमको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकमा श्रेष्ठको नियुक्ति सरकारको कार्यविधि विपरीत समेत देखिएको थियो ।

पर्यटन मन्त्रालय सम्बद्ध ‘सार्वजनिक निकायका सदस्य तथा पदाधिकारी नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३’ अनुसार कुनै निकायको कार्यकारी प्रमुख नियुक्त हुने व्यक्तिको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्छ ।

श्रेष्ठ ६५ वर्ष उमेर नाघिसकेको र निगमबाट अवकाशप्राप्त भएको ३४ वर्षपछि नियुक्ति दिइएको भन्दै कार्कीले रिट निवेदन दिनुभएको थियो।

सर्वोच्चको यो फैसलासँगै कार्यकारी अध्यक्ष श्रेष्ठ पदमुक्त हुनुभएको छ । अब नयाँ प्रक्रियाबाट कार्यकारी अध्यक्ष नियुक्ति गर्नुपर्दछ। श्रेष्ठ सञ्चालक समिति सदस्य भने कायम रहनेछन् ।

यसअघि पनि सर्वोच्चबाटै नियुक्ति खारेज गरेका पाँचजना सञ्चालकमा श्रेष्ठ पनि पर्नुभएको थियो।

३१ वैशाखमा निगममा ५ जना सञ्चालक समिति सदस्य नियुक्त गरिएको थियो । उक्त नियुक्ति सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।

त्यतिबेला पनि कार्कीले नै मन्त्रालयको सिफारिस समितिले दिएको सूचीमा क्रम मिचेर स्वेच्छिक ढंगले सञ्चालक चयन गरिएको भन्दै रिट दिनुभएको थियो । त्यसको सुनुवाइ गर्दै सर्वोच्चले नियुक्ति बदर गरेको थियो ।

Share Now